रामेछाप नगरपालिकामा अनियमितता बढी / धेरै अनियमितता नगर प्रमुख नर बहादुर थापा मगरकै वडामा

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकार गठन भएयता केही ठाउँमा विकास निर्माण र जनसरोकारका धेरै काम भएका छन् । जनतामाझ गरेका बाचा पूरा गर्न केही जनप्रतिनिधि अहोरात्र खटेका छन् । केही यस्ता जनप्रतिनिधि पनि छन्, जसलाई आफूले के गर्ने भन्ने राम्रो हेक्कासमेत छैन ।

त्यसैले केही ठाउँमा भने जनता निकै असन्तुष्ट देखिएका छन् । हो रामेछाप नगरपालिकाको अवस्था यस्तै छ ।



नगर प्रमुख नरबहादुर थापामगरले चुनावअघि र पछि पनि रामेछाप नगरपालिकामा एक रुपैयाँ भ्रष्टाचार हुन नदिने बताइरहेका छन् । तर, स्थानीय बासिन्दा भने नगरका धेरै क्षेत्रमा अनियमितता भइरहेको भन्दै असन्तुष्ट देखिएका छन् ।

उनीहरुले जनप्रतिनिधिकै मिलेमतोमा विकास निर्माणका कार्यमा अनियमितता भइरहेको बताएका छन् । सबैभन्दा बढी अनियमितता नगर प्रमुख थापामगरकै वडामा भइरहेको हिमगंगाबासी बताउँछन् ।

हिमगंगामा नगर प्रमुख थापामागरकै आडमा नेपाली कांग्रेसका कार्यकर्ताको स्वेच्छाचारिता बढेको स्थानीयको आरोप छ ।

चुनावअघि ठूला सपना बाँडेका मेयरले चुनावपछि विकासका काम गर्न आग्रह गर्दा उल्टै धम्क्याएको हामबहादुर नेवारले बताए । ‘नरबहादुर थापामगर गणतन्त्रको मेयर त हुनुहुन्छ तर उहाँको व्यवहार पञ्चायत प्रमुखको जस्तो रहेछ,’ आक्रोशित हुँदै उनले भने । नगर प्रमुख पूर्वपञ्च हुन् ।

नगरपालिका र ४ नम्बर वडा कार्यालयले मोटर बाटो निर्माणमा राम्रै बजेट विनियोजन गरेका थिए । तर, वडाअध्यक्ष टुपेन्द्रबहादुर तामाङले नगर प्रमुखको आडमा उपभोक्ता समितिमा समेत आफ्नै कार्यकर्ता राखेर विकासमा अनियमितता गरिरहेको स्थानीयको भनाई छ ।

कमेरो पानी–स्याउला गाउँ सडक पहिले नै खनेको भए पनि बडा कार्यालयले पछि बजेट विनियोजन तथा निकासा गरेको स्थानीय बताउँछन् । २०७० सालको संसद विकास कोषको पैसाबाट खनेको स्कुल डाँडा– बरबोट गनाउने खोला सडकमा पनि पुनः बजेटिङ गरी आधा काम पनि नभई रकम निकासा गरेको उनीहरुको आरोप छ । गोलढुंगा– छिपिटोल सडक र देउराली– हिमगंगा– तिलबारी सडकमा पनि अनियमितता भएको स्थानीय बताउँछन् ।

नगरपालिकाभित्र शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार भइरहेको स्थानीयको आरोप छ । वडाका विद्यालयहरुमा भ्रष्टाचार गर्दिन भन्नेहरुबाटै बढी भ्रष्टाचार र अनियमितता भइरहेको स्थानीय सञ्जीव श्रेष्ठले बताए ।

स्वास्थ्यमा पनि अवस्था उस्तै छ । नगर प्रमुखको वडामा दुईवटा स्वास्थ्य संस्था छन् । एउटा नगर प्रमुखकै टोलमा छ भने एउटा अर्को पाटेमा छ । बजेट फ्रिज हुनुभन्दा २० दिनअघि कार्यक्रम सम्झौता गरेर र आफ्ना कार्यकर्तालाई निर्माण समितिमा राखेर जनप्रतिनिधिले अनियमितता गरेको स्वास्थ्य चौकीको भवनका लागि निःशुल्क जग्गादान गरेका हामबहादुर नेवारले बताए ।

ठेकेदारले इस्टिमेटअनुसारको निर्माण सामग्री प्रयोग नगरी भवन निर्माण गरेको भए पनि रकम निकासा दिएको भन्दै धारापानी स्वास्थ्य इकाइको अध्यक्ष रत्नबहादुर नेवारले विरोध गरेका छन् । स्थानीय युवा अनिल श्रेष्ठले पनि नगर प्रमुख र वडाध्यक्षले सबै कुरा बुझेर पनि नबुझेजस्तो गरी धारापानी स्वास्थ्य इकाइमा राजनीति गरेको बताए ।

जनप्रतिनिधिहरुले वर्षौं पहिले देखि विभिन्न संघसंस्थाले सञ्चालन गरेको खानेपानी योजनामा बजेट विनियोजन गरेर सरकारी ढुकुटीबाट कार्यकर्ता पाल्ने काम गरेको भन्दै स्थानीय असन्तुष्ट देखिएका छन् ।

सात वर्षअघि नै एनजीओले सुरु गरेको धाराखोला खानेपानी योजना लगायतमा कार्यकर्तालाई समितिमा राख्ने र रातारात काम नगरी योजना सम्पन्न गरेको डकुमेन्ट बनाएर रकम निकासा लिएको युवाहरुले बताएका छन् ।

हिमगंगाका युवाहरुले नगर प्र्रमुख थापा मगरलाई चर्का भाषण गर्नभन्दा काम गरेर देखाउन आग्रह गरेका छन् । नगरक्षेत्रमा स्वेच्छाचारी र अनियमितता हुन नदिन उनीहरुले खबरदारी पनि गरेका छन् ।

आफ्नो वडामा भइरहेको अनियमिता प्रति कुनै चासो नराखेको र मिडियामा चाहिँ एक रुपैयाँ भ्रष्टाचार गर्दिन भन्नु हास्यासपद भएको स्थानीय सूर्यबहादुर श्रेष्ठले बताए । ‘आफ्ना कार्यकर्ताले गरेको मनपरी रोकेर नगरको विकासमा लाग्न मेयरज्यू लाई हामी सबैको अनुरोध छ,’ उनले भने ।

नगर प्रमुख थापा के भन्छन् ?
नगर प्रमुख थापाले भने नगरका काम कारबाही विधिसम्मत नै भइरहेको जिकिर गरे । ‘मुख्यतः नगर प्रमुखको काम विकास निर्माणतर्फ बजेट विनियोजन गर्ने र नगर सभा बोलाउनेमात्र हो,’ ‘उनले भने त्यसबाहेकका काम सम्बन्धित निकायले नै हेर्छ ।’ नगरपालिकाले धेरै काम गरिरहेकाले केही असन्तुष्टि आउनु स्वाभाविक भएको उले बताए ।

विकास निर्माणको काम गर्नका लागि अनुगमन समिति बन्ने र प्राविधिकसहितको सोही समितिले काम गरिरहेको हुने उनले जानकारी गराए । ‘त्यसैले कसले के भन्छ, मलाई केही पनि थाहा हुन्न,’ प्रमुख थापाले भने, ‘अनियमितता भएको भन्ने अहिलेसम्म मेरो कार्यालयमा रिपोर्ट आएको छैन, आएको खण्डमा छानबिन गरी कारबाही गर्छु ।’

‘त्यसैले कसले के भन्छ, मलाई केही पनि थाहा हुन्न,’ प्रमुख थापाले भने, ‘अनियमितता भएको भन्ने अहिलेसम्म मेरो कार्यालयमा रिपोर्ट आएको छैन, आएको खण्डमा छानबिन गरी कारबाही गर्छु ।’

साभार : News karobar