पुस ५, २०७५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलक रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १० रुपैयाँको पोलिमर नोट छपाई प्रकरणमा अनियमितता भेटिएको भन्दै रावलविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
अष्ट्रेलियामा छापिएको दश रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाई प्रकरणमा रावलले भ्रष्टाचार गरेको भन्दै उजुरी आयोगमा परेको थियो । रावलविरुद्द अख्तियारले ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ बिगो दाबी गरेको छ । रावलसँगै आयोगले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्ध समेत समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । रावलले २०५६ साल माघदेखि २०६१ माघ सम्म गभर्नरको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसैबीच, सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले सहायक वन अधिकृत राजकुमार ठाकुरलाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत ठाकुरले काठ कटानी सम्बन्धी मुद्दा मिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३३ हजार रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई घुस बापतको रकम लिइसकेको अवस्थामा बेनी, ७ स्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।
प्रकाशित:पुस ५, २०७५
ekantipur बाट साभार