कसले हाल्यो प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट , बिस्तारमा पढ्नुहोस् …

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २१ २०७५
  • तामाकोशी

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्चच अदालतमा मुद्धा दायर भएको छ । प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।भगत नेपाली सेनाका भगौडा हुन् । भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाइसीएलको स्थानीय नेताका रुपमा काम गरे ।

भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो ।प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारिक श्रोतले जानकारी दियो ।



भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन् ।रिट निवेदकले आफूलाई विस्तृत शान्ति सम्झौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन् ।रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।

रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालिन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।