रामेछापको चिसापानी गढिमा शिद्धबाबाको मन्दिर बन्ने

  • प्रकाशित मिति: आइतबार, कार्तिक २५ २०७५
  • तामाकोसी खबर

रामेछाप । कार्तिक २५ गते,
रामेछापको मन्थली नगरपालिका ८ चिसापानीको ऐतिहासिक चिसापानी गढीमा शिद्धबाबाको मन्दिर बन्ने भएको छ । चिसापानी गढी संरक्षण तथा विकास समाजले यस बर्ष खेलेको सामूहिक देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट मन्दिर निर्माण गर्न सुरु गरिने बताइएको छ । कार्तिक २१ गते काठमाण्डौँ र २३ गते भाईटिकाको दिन चिसापानीमा खेलिएको सामूहिक देउसी भैलो कार्यक्रमबाट संकलन भएको ५२ हजार पाँच सय एक रुपयाँ नगद मन्दिर निर्माणमा खर्च गरिने संस्थाका सचिव उत्तम कुमार श्रेष्ठले जानकारी दिए । ऐतिहासिक चिसापानी गढीलार्ई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न मन्दिर निर्माण गर्न लागिएको उनको भनाई छ ।
आगामी आर्थिक वर्षको सुरुदेखी मन्दिर निर्माणको काम सुरु गरिने संस्थाका अध्यक्ष श्याम कुमार श्रेष्ठले जानकारी दिए । गढीसम्म सडक नपुगेको र सडक पुग्ने बित्तिकै नगरपलिका र वडासंग समन्वय गरी नक्सा पास गरेर काम सुरु गरिने उनको भनाई छ । उनका अनुुसार मन्दिर १०–१० को हुने र ढुङ्गालाई कुँदेर पुरानो शैलीमा बनाईने छ । मन्दिर निर्माणका लागि कम्तिमा ५ लाख लाग्ने भएकाले सकेको सहयोग गर्न पनि संस्थाले सरोकारवाला निकायलाई अपिल समेत गरेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट १४ किलोमिटर उचाईमा रहेको गढीबाट रामेछापका ७० प्रतिशत भू–भाग र सिन्धुलीका विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ ।