आफैंले पालेको भैसीले हान्दा २५ वर्षे यूवा घाइते

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ९ २०७५
  • तामाकोसी खबर

रामेछाप । कार्तिक ९ गते,
आफ्नै घरमा पालेको भैसीले हान्दा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ दार्खाका २५ वर्षीय प्रकाश रोका घाइते भएका छन् । ३ महिना अघि व्याएको भैंसीको दुध दुहुन जाँदा भैंसीले हान्दा रोका घाइते भएका हुन् । घाइतेका बाबु काले रोकाका अनुसार भैंसी सँधै आफूले दुहुने गरेकाले एक हाते भइसकेको थियो । छोराले आज म दुहुन्छु भनी विहिबार साँझ भैंसीको थलामा गएको थियो । भैंसीले दुध दिएनछ, रिसको झोकमा दुध दुहुने ढुंग्रो समेत फुट्नेगरी भैंसी पिटेछ । पछि थलामा गान्द्राङ गुन्द्रुङ आवाज र भैंसी कराएको सुनेपछि हेर्न जाँदा त छोराको हातबाट तररर रगत बगिरहेको देखे बाबु रोकाले भने ।
घाइतेलाई राती १० बजे नै ३ नं. वडा स्वास्थ्य चौकी ल्याइपु¥याइएको थियो । स्वास्थ्य चौकी ल्याउँदा बेहोस अवस्थामा रहेका रोकालाई आपत्कालिन कार्य संचालन केन्द्र गोकुलगंगाले मानवीय सहयोग गरेको थियो । घाउ ठूलै भएकाले रगत अलि बढी बेगेको रहेछ । ५ वटा टाँका लगाइएको घाइतेको उपचार भइरहेको र विरामीको अवस्था सामान्य रहेको स्वास्थ्य चौकी प्रमुख मानोज कुमार शाहाले जानकारी दिनुभयो ।