सिन्धुपाल्चोकमा ४७ हजार ९ सय ५४ घर निर्माण सम्पन्न

  • प्रकाशित मिति: बुधबार, असोज १० २०७५
  • तामाकोसी खबर

सिन्धुपाल्चोक । असोज १० गते,
भूकम्प अति प्रभावित सिन्धुपाल्चोकमा ४७ हजार ९ सय ५४ घर निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको प्रगति हेर्दा बलेफी गाउँपालिका सबैभन्दा अघि र भोटेकोशी गाउँपालिका सबैभन्दा पछि देखिएको छ । तर, सरकारले जोखिमस्थलका बस्ती छिटो स्थानान्तरण नगरिदिँदा १७३ परिवारले जोखिम स्थलमा नै घर निर्माण गरेर बस्न सुरु गरिसकेका छन् । गोर्खा भूकम्पको ठीक एक वर्ष अर्थात २०७३ वैशाखदेखि जिल्लामा निजी आवास पुनर्निर्माण सुरु भएको थियो । ८६ हजार ९ सय ७१ लाभग्राहीमध्ये २९ महिनाको बिचमा जिल्लामा ५५ प्रतिशत पुनर्निर्माण सकिएको छ ।
८३ हजार १ सय ७४ लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भएकोमा ८२ हजार ८ सय ४७ ले पहिलो किस्ताको अनुदान लिएका थिए । यस्तै ७४ हजार २ सय १९ ले तेस्रो र ४७ हजार ९ सय ५४ ले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजनाका व्यवस्थापक इन्जिनियर माधवजंग कार्कीले जानकारी दिए । तर, कामदार अभाव, निर्माण सामग्रीको अभाव, सडक लगायतका समस्याका कारण पुनर्निर्माणमा समस्या भएको उनले बताए । बैकिङ प्रक्रिया पनि झन्झटिलो भएकाले पीडितहरुलाई समस्या भएको उनको भनाइ छ ।
अहिले झण्डै ४८ हजारले तेस्रो किस्ता लिएका छन् तर घर निर्माण गर्नेको संख्या योभन्दा धेरै छ । पुनर्निर्माण सुरु भएदेखि गएको आर्थिक वर्षसम्म निजी आवास निर्माणमा १६ अरब ९१ करोड २२ लाख रुपियाँ सिन्धुपाल्चोकमा मात्रै सकिएको छ । निजी आवास पुनर्निर्माण कार्यले जनप्रतिनिधिको देखिने मध्येको एउटा काम भएकाले सबै स्थानीय तहले पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।