रामेछाप । भदौ २३ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाका करिब ४ सय घरपरिवार अहिलेसम्म पनि टुकीकै भरमा निर्वाह गर्दै आएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएको डेढ वर्ष वितिसक्दा पनि उनीहरु विगतमा जस्तै अहिले पनि टुकीकै भरमा निर्वाह गर्दै आएका छन् । १४ वडा रहेको मन्थली नगरपालिकाको साविकका भटौली, पुरानागाउँ, कठजोर र सालु गाउँबिकास समितिका करिब ४ सय घरधुरीमा टुकी वक्तिका भरमा दैनिकी चलाउन बाध्य छन् । प्राप्त तथ्याकं अनुसार भटौलीको ८ र ९ को कल्लेरी र सल्लेनी बस्तिका १ सय ९५ घरधुरीमा बत्ती बल्न नसकेको स्थानीय गंगालाल गोलेले बताए ।
उनका अनुसार स्थानीय सरकारले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार विद्युतीकरणको काम सम्पन्न नहुँदा सर्वसाधारणले आफ्नो दैनिकी टुकीकै भरमा चलाउँदै आएका छन् ।
त्यसको सबैभन्दा ठूलो असर बालबालिकाको पढाईमा देखिएको छ । डेढवर्ष अघि भएको स्थानीय निकायको निर्वाचनमा मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले एक वर्ष भित्र सिङ्गो नगरपालिकाका सवै वस्तीहरुमा पूर्णरुपमा विद्युतीकरण गरिसक्ने बताएका थिए । उनले विभिन्न सार्वजनिक कार्यक्रममासमेत आफु निर्वा्चित भएपछि प्राथमिकताको क्रममा गर्ने मुख्य काममा विद्युतीकरणको कामलाई प्राथमिकता दिने बताएका थिए । तर नगरपालिकाकै विकट र दुर्गम वडाको रुपमा चिनिने भटौलीको कौशनी, कल्लेरी र मानेडाँडा , सल्लेनी जस्ता बस्तीलाई नगरपालिका र विद्युत प्राधिकरणले वेवास्ता गरेको स्थानियहरुको गुनासो रहेको छ ।
जिल्लाको साविकको पुरानागाउँ ८ र ९ को खोरवेसी र बाहुनचुराका १ सय घरधुरीमा पनि बत्ती बल्न सकेको छैन् । नगरकै वडा नं २ र ३ को कठजोर र अर्चलेका करिब ३० घरधुरीमा पनि अहिलेसम्म पनि बत्ती वल्न सकेको छैन् । त्यस्तै वडा नं ४ को गैराथोकका करिब ४० घरधुरीमा पनि बत्ती बल्न सकेको छैन् । नगरपालिकाले कर अुसुलीको प्रक्रियालाई कढाई गरेको अनुपातमा सेवा सुविधाको आवाजलाई भने कम प्राथमिकता दिएको नगरवासीको भनाई छ । नगरपालिकाका विद्युतीकरण हुन वाँकी रहेका वडाहरुका नागरिकहरुको गुनासाका वारेमा प्राधिकरणका प्रमुख विनोद अधिकारीले चाँडै नै सिङ्गो मन्थली नगरपालिकाका वस्तीहरुमा प्राथमिकताका साथ विद्युतीकरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
न्युज २४ बाट साभार