रामेछाप । असार १८ गते,
सोमबार रातिदेखी परेको अविरल वर्षाका कारण रामेछाप जिल्लाको जनजीवन पनि प्रभावित भएको छ । वर्षाको कारण जिल्लामा अहिलेसम्म त्यस्ता अप्रीय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बर्षा जारी रहेकाले जिल्लामा हुनसक्ने सम्भावीत घटनाहरुलाई मध्यनजर गरी उद्धार टोली तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । 
मन्थली नगरापालिकाको वडा नं १ बसपार्कमा निर्माण भएको घरको वरीपरिको जमिन बर्षाअघिनै बग्न थालेकाले सो स्थानमा घटना हुन सक्ने भन्दै आवश्यक सामाग्री सहित २० जना भन्दा बढि उद्धार टोली तैनाथ गरिएको प्रहरी निरिक्षक थापाको भनाई छ । बसपार्क स्थित सडक भन्दा माथि बनाइएको मन्थली नगरपालिका गेलु स्थायी ठेगाना भएका खुसहरी बुढाथोकीको घरको वरपरका जमिन एकाएक चिरा पर्ने र बग्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । यसलाई मध्यनजर गरी घरभन्दा तलको सडकमा प्रहरी परिचालन गरी पैदल यात्री तथा सवारी साधनहरुलाई पनि छिटो छिटो पास गर्ने काम भैरहेको प्रहरी निरिक्षक थापाले बताए ।
होटल संचालनका लागि तयारी गरिएको उक्त घर वरपरको जमिन भासिएका कारण खतरा बढ्दै गएपछि सेना र प्रहरीको सहयोगमा समानहरु निकालि सकिएको छ । घर भासिएको स्थानमा नागथान रहेको र पुजाआजा गर्ने गरिएको स्थानीय बुढापाकाको भनाई छ । पहिला पनि उक्त ठाउँमा समन्य पहिरो आउँदा र गडवारीमा रहेको नागबेली शिला लाई नागथान मानि पुजाआजा गर्ने चलन रहेको स्थानीयहरुको भनाई छ । खेलुवा माटो भएको ठाउँमा घर निर्माण गरिएकाले घरको भार माटोले थाम्न नसक्दा बग्न लागेको प्राविधिकहरुको भनाई छ ।
अविरल वर्षाका कारण रामेछापको जनजीवन प्रभावित
- प्रकाशित मिति: सोमबार, असार १८ २०७५
- तामाकोसी खबर