यातायात बन्दको विरोधमा व्यवसायीद्वारा २ घण्टासम्म मन्थली बजार ठप्प

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ३० २०७५
  • तामाकोसी खबर

नवराज पथिक
रामेछाप । जेठ ३० गते
विपिमार्गमा ढुवानी सेवा बन्द भएको बिरोधमा रामेछापका व्यवसायीहरुले बुधबार २ घण्टासम्म रामेछापको सदरमुकाम मन्थली बजार ठप्प बनाएका छन् । व्यवसायीहरुले बजारमा सामान सकिएको भन्दै विरोध स्वरुप आप्mनो व्यवसाय बन्द गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यवाहाक अध्यक्ष केशव घिमिरेले बताए ।
बिपिमार्गको सिन्धुली खुर्काेट सडक खण्डमा सिन्धुली प्रशासनले १० टन माथिका ढुवानीका साधन र १८ सिटभन्दा माथिका यात्रुवाहक सवारी सधन चल्न रोक लगाएपछि यातायात मन्त्रालयलले मन्त्रीस्तरको निर्णय गरी प्राविधिक प्रतिवेदनको आधारमा १० चक्के ढुवानीका साधन र ३२ सिटसम्मका यात्रीवाहक गाडिहरु सञ्चालन गर्न निर्देशन दिएको थियो ।
तर त्यसको विरोधमा सर्वाच्च अदालतमा मुद्दा दर्ता भएपछि अदालते सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधिश सपना मल्ल प्रधानको इजालसले सो आदेश दिएपछि स्थानीय प्रशासनले सिन्धुलीबाट खुर्काेट हुँदै रामेछाप तथा दोलखा आउने यातायात साधन सञ्चालनमा रोक लगाएको छ ।
यातायात साधन सञ्चालनमा प्रतिवन्ध लागेपछि रामेछापमा उपभोग्य सामान ढुवानी हुन सकेको छैन । सामान ढुवानी गर्न नदिएको भन्दै रामेछापबासी व्यवसायीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा बुधबार उनीहरुले बिहान ९ बजेबाट मन्थली बजार बन्द गरेका हुन् । राज्यको अत्याचारको विरुद्ध आपूmहरु वाध्य भएर आन्दोलनमा उत्रिनु परेको रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले बताए ।
व्यवसायीहरुले बजार बन्द गरी सडकमा विरोध प्रदर्शन गरेका छन् । बजारमा उपभोग्य तथा निर्माण सामाग्री अभाव हुँदा पनि राज्य मुकदर्शक बनेको व्यवसायीहरुको आरोप छ । रामेछाप जिल्लामा उपभोग्य सामान तथा निर्माण सामाग्रिहरुको चरम अभाव भएको रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवनराज कठायतले बताए ।