रामेछाप । जेठ २१ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ नाटिलामा लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएसंगै स्थानीयहरु खुशी भएका छन् । वडा कार्यालयको अगुवाइमा तामाकोशी लिफ्ट खानेपानीको काम सुरु भएपछि खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयहरु हर्सित भएका हुन् ।
केन्द्रीय सरकारको कार्यक्रममा सो योजना परेपछि स्थानीयहरु पैसा आउनु अघि नै उपभोक्ताबाट नै रकम संकलन गरी खानेपानी योजना निर्माणको काममा लागेका छन् ।
सो योजना पुरा भए पछि मन्थली नगरपालिकाको वडा नम्बर ११ का २ हजार २ सय भन्दा बढि घर परिवारले पीउने पानी उपभो गर्न पाउने छन् । योजनाबाट मन्थली नगरपालिका वडा नम्बर ११ को नाटिला , माख्लो नाटिला , खमारे , सावा डाँडा र काउलेका स्थानीयहरु लाभान्वित हुने नाटिला लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष राम बहादुर थापा मगरले बताए ।
खानेपानीका मुहानहरु सुकेपछि सो स्थानका मानिसहरुको बसाई सर्ने क्रम जारी छ । सोहि समस्यालाई सम्बोधन गर्न स्थानीयको सहयोगमा लिफ्ट खानेपानी आयोजना सुरु गरेको मन्थली नगरपालिका ११ का वडाध्यक्ष भिम बहादुर थापा मगरले बताए ।
रामेछाप जिल्लाका साविका २७ भन्दा बढी गाउँ विकास समिति सुख्खाग्रस्त छन् । ती स्थानमा बर्षाको समयमा समेत खानेपानीको चरम अभाव हुने गरेको छ । जसका कारण ती स्थानको जनजीवन कष्टकर बनेको छ । पानीको अभावकै कारण जमिन बाझै बस्ने र कोशी तथा खोला किनारका खेती योग्य जमिनमा मानव बस्तीको विस्तार हँुदै गएको छ ।
