रामेछाप सदरमुकाम मन्थलीमा थान्का लेखन तालिम

  • प्रकाशित मिति: बिहिबार, बैशाख २० २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख २० गते ,
रामेछाप सदरमुकाम मन्थली स्थित गुम्बाहलमा विहिवारबाट ४५ दिने थान्का लेखन तालिम सुरु भएको छ । तालिममा जिल्लाभरबाट युवा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको रामेछाप हस्तकला संघका अध्यक्ष चुडादेव सिंह लामाले जानकारी दिए । विश्वबजारमा नेपाली थान्काको मुल्य उच्च रहेका कारण युवाहरुलाई व्यवसायिक हिसाबले सक्षम बनाउन थान्का लेखन तालिम संचालन गरिएको उनले बताए । सो तालिमको आयोजना नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय व्यापार तथा निकासि प्रबद्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र रामेछाप हस्तकला संघको व्यवस्थापनमा संचालन भएको हो ।
५० जना सहभागि तालिममा थान्का लेखन सम्बन्धि प्रशिक्षण दिइने छ । रामेछाप हस्तकला संघका अध्यक्ष चुडादेव सिंह लामाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल हस्तकला महासंघ कला तथा सिल्प परिषदका अध्यक्ष प्रचण्ड शाक्य , नेपाल आदिवासी जनजाति महासंघ रामेछापका पूर्वअध्यक्ष खड्ग बहादुर आले मगर , गुम्बा विहार संरक्षण विकास संघ रामेछापका अध्यक्ष हिमाल योञ्जन , लिटिल स्टार स्कुलका सहायक प्रधानाध्यापक हस्त लामा लगाएतले तालिमको औचित्य बारे बोलेका थिए । तिब्बतका राजा सङ्चन गुम्पोले नेपाली चेली भृकुटीसँग विवाह गर्दा उपाहार स्वरुप थान्का ल्याइदिएका थिए । नेपाली थान्कामा बुद्ध धर्म सम्बन्धी देवी देवताका चित्र, प्रकृति र पर्यावरण सम्बन्धी चित्रहरु कोर्ने गरिन्छ ।