वैकल्पिक ऊर्जाबाट सिन्धुलीका ३३ हजार ३ सय ८७ घर परिवार लाभान्वित

  • प्रकाशित मिति: सोमबार, बैशाख १७ २०७५
  • तामाकोसी खबर

सिन्धुली । वैशाख १७ गते,
सिन्धुलीमा बैकल्पिक उर्जाको प्रयोग गर्नेको संख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय प्रशारण लाइन नपुगेका ग्रामीण भेगमा बैकल्पिक उर्जाको प्रयोग बढीमात्रामा भएको पाइएको छ । अहिले जिल्लामा वैकल्पिक तथा नवीकरणीय ऊर्जाबाट ३३ हजार ३ सय ८७ घरधुरी लाभान्वित भएका छन् । जसबाट विद्युत सेवा विस्तार नभएका स्थानका नागरिक प्रत्यक्ष लाभान्वित भएका हुन् । जिल्ला समन्वय समितिको वावतवरण तथा जलवायु परिवर्तन शाखाका अनुसार सिन्धुलीमा हालसम्म लघु जल विद्युत तथा पिको जल विद्युत परियोजना २८, साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणाली २७ हजार ३ सय ३८, सुधारीएको घट्ट विद्युतीकरण परियोजना ७ वटा रहेको छ ।
त्यस्तै लघु जल विद्युत तथा पिको जल विद्युत परियोजनामा ४ हजार ९७, साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणाली बाट २७ हजार ३ सय ३८, सुधारीएको घट्ट विद्युतीकरण परियोजनाबाट ३ सय ५७ र परम्परागत प्रविधि प्रयोग गर्ने १ जहार ५ सय ९५ घरधुरी लाभान्वित भएको जिल्ला समन्वय समितिका वावतवरण तथा जलवायु परिवर्तन शाखाका अधिकृत संदीप उपाध्यायले जानकारी दिए । हालसम्म जिल्लामा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा १० हजार ५९९ घरेलु बायोग्याँस, १२ हजार ३ सय ५६ माटोको सुधारिएको चुलो, ३ हजार ४ सय ४७ फलामे सुधारिएको चुलो जडान भएका छन् । सिन्धुलीमा परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहँुच विस्तार हुनुका साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको वातावरणीय अधिकृत उपाध्यायको भनाई छ ।
अव स्थानीय तहमा नवीकरणीय उर्जाको तथ्यांक संकलन अध्यावधिकको व्यवस्था, होटल व्यवसाय गर्ने व्यवसायिहरुलाई परम्परागत चुलो प्रयोग गर्न निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने उपाध्यायले बताए । साथै उनले साविक जिल्ला विकास समितिले प्रति किलो वाट ५० हजारका दरले उपभोक्ता समितिलाई उपलब्ध गराउने रकम अव स्थानीय तहले उपलब्ध गराई बैकल्पिक उर्जा तथा लघु जलविद्युत तर्फ प्रोत्साहन गर्न स्थानीय तह लाग्नु पर्ने बताए । जलवायु परिवर्तनको प्रभाव कम गर्न केन्द्रबाट सञ्चालित कार्यक्रमहरू निकै प्रभावकारी रहेको र स्थानीय तह अनुसार कर्मचारी परिचालन गर्न नसक्दा सम्बन्धित निकायले कर्मचारीहरुको उचित तवरले व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ ।