रामेछाप । चैत १८ गते,कैलाश खत्री,
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा भूकम्प प्रतिरोधि घरको नक्सा तयार गर्दा इन्जिनियरले तोके भन्दा बढि रकम लिएपछि स्थानियहरु विरोधमा उत्रीएका छन् । दुई कोठे र तिन कोठे घरको पाँच सय रुपैया राजश्व तिर्नुपर्ने नगरपालिकाको कार्यविधि रहेपनि इन्जिनियर अनुराग वाग्लेले दुईकोठे घरको १२ सय र तीनकोठे घरको १७ सय रुपैयाँ बढि लिएको भन्दै भूकम्पपिडितले नगरपालिकामा कारवाहीको माग गर्दै उजुरीनै दिएका छन् ।
यता इन्जिनियर वाग्लेले भने वडा अध्यक्ष वुद्धि बहादुर पुलामी मगरको निर्देशनमा आफुले सो रकम लिएको बताएका छन् । पाँच सय रुपैँया राजश्व बापतको रसिद काटि रकम लिन मिल्ने भएपनि अहिले १२ सय र १७ सय रुपैँया लिनु राजनीतीक नेतृत्वकै आडमा वडा कार्यालयले अनियमितता भएको स्थानीय दिलिपराज गिरीले बताए ।
पटक पटक प्रशासनमा जानकारी गराउँदा पनि आफुहरुको समस्यामा सरोकारवला निकाय गम्भिर नभएको भूकम्पपिडितको गुनासो छ । पुरानागाउँका पिडितहरुले घरको नक्शामा अनियमितता गर्नेलाई कारवाहीको माग गर्दै मन्थली नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । जवाफमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आफुले सत्य तथ्य बुझी बढि रकम असुलेको भए कारबाहि गर्ने बताए । यता पुरानागाउँका स्थानीय कपिलराज गिरीले नगरपालिका र वडाका जनप्रतिनिधि र सरकारी कर्मचारीको मिलेमतोमा भुकम्प पिडित स्थानीयहरुलाई बढि रकम लिएर इन्जिनियरले नक्सा दिइरहेको आरोप लगाएका छन् । पुरानागाउँमा लगभग ९ सय घर पुननिर्माण गर्नुपर्ने छ । जसमा बन्दै गरेका ४ सय भन्दा बढी घरहरुको नक्सा बनाउदा वडा अध्यक्षको निर्देशनमा बढि सुल्क लिइएको स्थानीयहरुको आरोप छ ।
पुुरानागाउँमा वडा अध्यक्षकै निर्देशनमा घरको नक्सा बनाउँदा चर्काे रकम लिने गरेको खुलासा
- प्रकाशित मिति: आइतबार, चैत्र १८ २०७४
- तामाकोसी खबर