रामेछाप । फागुन २३ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा औषधी पुगेको छ । नेपाल सरकारले स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने ३५ प्रकारका औषधीहरु नगरभित्रका सबै स्वास्थ्य संस्थामा उपलब्ध रहेको मन्थली नगर स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयाल्ले जानकारी दिए ।
यसअघि औषधी अभाव भएको भन्दै स्थानीय सेवाग्राहीहरुले नगरपालिकाको चर्को विरोध गरेका थिए । स्थानीय तहको निर्वाचनपछि औषधी व्यवस्थापन गर्न केहि समस्या परेपनि अहिलेभने सहज भएको जनस्वास्थ्य प्रमुख फुयाल्को भनाई छ ।
मन्थली नगरपालिका भित्र २ वटा प्राथामिक स्वास्थ्य केन्द्र, ९ वटा स्वास्थ्यचौकी ,२ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । नगरपालिकाले फागुनको पहिलो साता नै १९ लाख रुपैँयाको औषधी खरिद गरी सम्बन्धीत स्वास्थ्य केन्द्रहरुलाई पठाएको छ । नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधी मध्य जिल्ला अस्पतालमा ७० , प्राथामिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ३५ थरीका औषधीहरु उपलब्ध हुनुपर्ने व्यवस्था छ । तर स्थानीय तहको नयाँ संरचनाको कारण रामेछापमा यस अघि व्यापक रुपमा औषधी अभाव भएको गुनासो आएको थियो । मन्थली नगरपालिका भित्र मासिक ५ लाख रुपैयाँ बराबरको औषधी आवश्यक हुने नगर स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयाल्ले जानकारी दिए ।
