रामेछाप । फागुन २२ गते,
रामेछापमा ११ हजार ५ सय भन्दा बढि निजि आवास बनेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले यस्तो जानकारी दिएका हुन् ।
प्रमुख आचार्यले जिल्लामा अहिले सम्म ३५ हजार १ सय घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २५ हजार ३ सय घरले दोस्रो किस्ताको रकम लिइसकेको बताए । उनले ६ हजार १ सय घर तेस्रो किस्ताका लागि निवेदन परेकोमा ४ हजार ५ सय ५० घरले तेस्रो किस्ता लिइसकेको बताए । भूकम्पका कारण जोखिममा रहेको बस्तीका १ सय ५१ जना लाभग्राहीलाई अन्यठाउँमा जग्गा खरिदका लागि २ लाख दिने प्रक्रिया सुरु भैसकेको उनको भनाई छ ।
यसमध्य २७ जनाले २ लाख रुपैया लिएर सुरक्षित स्थानमा जग्गा खरिद गरी घर निर्माण प्रक्रिया सुरु भैसकेको पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले बताए । ११ हजार ८ सय ४८ गुनासोका बारेमा केन्द्रले छानविन गरिरहेको उनले बताए । रामेछापमा ४५ हजार ५० घर क्षेति भएकोमा ४३ हजार लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् ।
कार्यक्रममा सहभागिहरुले भने लाभग्राहीहरुलाई अनुदान लिन निकै झन्जटिलो भएको बताएका छन् । उनीहरुले पछिल्लो समय लाभग्राहीहरुलाई अनुदान रकम लिनका लागि झनै समस्या हुदै गएको बताए । पुननिर्माणका सवालमा नागरिकहरुले अनेक खालका समस्या भोगिरहदा समेत सरोकारवालाले खासै केहि गर्न नसकेको आरोप लगाए । उनीहरुले पानी र दक्ष जनशक्तिको अभावका कारण पुननिर्माणमा समस्या भैरहेको बताए । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिल्ला शाखा रामेछापका जिल्ला अधिकृत रामशरण उप्रेतीले पुननिर्माणको सवालमा बढिभन्दा बढि समाचार प्रकाशन र प्रसारण गरिदिन आग्रह गरे ।
रामेछापमा हाल सम्म ११ हजार ५ सय निजि आवास बन्यो
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २२ २०७४
- तामाकोसी खबर