रामेछाप । फागुन १० गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शिक्षा , स्वास्थ्य , खाद्य अधिकार र विपद व्यवस्थापनका सवालमा साझा सभा बिहिबार सम्पन्न भएको छ । कार्यक्रम जिल्लामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र विपद् व्यवस्थापनका सवालसंग जोडिएर आएका गुनासा, अहिले भई रहेका काम र समस्या समाधानका उपाय लगायतका विषयमा केन्द्रित रहेको थियो ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र मानवअधिकिार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको सहजिकरणमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापसंगको समन्वयमा भएको हो । 
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक एवं कोलिसन नेटवर्कका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले रामेछापमा पुननिर्माणको कामले गति लिएको भन्दै खुशी व्यक्त गरे । पछिल्लो समय पुननिर्माणको कामले गति लिनुमा सरोकारवालाको महत्वपुर्ण भूमिका रहेको उनको भनाई छ । उनले जिल्लाको विकास निर्माणको कामको पारदर्शिताका सवालमा जिल्ला समन्वय समितिले कडा निगरानी राख्ने बताए ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका भित्रका केही भूकम्प पीडितहरुले घर निर्माणको सम्झौता गर्न नआएको भन्दै गुनासो गरे । प्रमुख बस्नेतले फागुन २५ गतेसम्म पनि सम्झौता गर्न नआउने त्यस्ता लाभग्राहिहरुलाई सरकारले उपलब्ध गराउने पुननिर्माण सम्बन्धी सेवा नदिने बताए । उनले नगरपालिका भित्रका खेती योग्य जमिनमा घर बनाउन नदिने पनि बताए । अब त्यस्ता जमिनमा बनाउन लागिएका घरको नक्सा नगरपालिकाले पासनै नगर्ने उनको भनाई छ ।
यदि नक्सापास नगरी घर बनाइए नगरपालिकाले जतिबेलापनि भत्काउन सक्ने उनको चेतावनी छ ।
कार्यक्रममा राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समिति रामेछापका प्रमुख ऋषिराज आचार्यले रामेछापमा अन्य जिल्लाको तुलनामा पुननिर्माणले गति लिएको दावि गरे । गत माघ महिनासम्म रामेछाममा ११ हजार घरहरु बनेको, ३५ हजार घरहरु दोस्रो किस्ताका लागि योग्य भएको उनको भनाई छ । जस मध्य २२ हजार भन्दाबढी घरहरुले दोस्रो किस्ताको रकम समेत पाइसकेको प्रमुख आचार्यको भनाई छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयाँल, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्ल, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.नारायण प्रशासद शर्माले आफ्नो कार्यालय मार्फत प्रवाहा भएको सेवाको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनीहरुले जिल्लाको सवै स्थानीय तहमा आफ्नो कार्यक्रम संचालन भैरहेको दावि गरे । यसै गरी रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापा उपभोक्ताहरुलाई दुःख दिने व्यवसायीहरुलाई वाणिज्यले संघले पनि कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए । 
कार्यक्रमा सहभागि सरोकारवाला निकायले शिक्षा, स्वास्थ्य, कृषि, पशु र पुननिर्माणका सवालमा सकभर गुनासो नआउनेगरी कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसै गरी जिल्लाको सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सरकारले वितरण गर्ने निशुल्क औषधी अभाव हुन नदिने प्रतिवद्धता समेत कार्यक्रममा जानाइएको छ ।
पारस्पारिक जावाफदेहीता परियोजनाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले सहजिकरण गरेको कार्यक्रममा सहभगिहरुले जिल्लामा पुननिर्माण समाग्रीको मुल्य बढेको, काठ वितरण र प्रक्रियाका बारेमा नागरिकमा अन्योलता रहेको भन्दै गुनासो गरेका छन् । पुननिर्माणसंग जोडिएका यस्ता समस्याहरुको समाधान गर्नका लागि सरोकारवाला गम्भिर नभएको उनीहरुको गुनासो छ ।
रामेछापमा अब औषधिको अभाव नहुने, पुननिर्माण पनि प्रभावकारी ढंगले अगाडी बढ्ने
- प्रकाशित मिति: बिहिबार, फाल्गुन १० २०७४
- तामाकोसी खबर