भूकम्प पीडित अनुदान लिने अवधि तीन महिना थपः दोस्रो किस्ता लिन सक्ने यस्तो छ प्रक्रिया

  • प्रकाशित मिति: शुक्रबार, माघ २६ २०७४
  • तामाकोसी खबर

माघ २६, काठमाडौं  – राष्ट्रिय पुननिर्माण प्राधिकरणले अघिल्लो वर्षको पुस मसान्तभित्र पहिलो किस्ता लिएका भूकम्प प्रभावितले दोस्रो किस्ताको अनुदान लिने अवधि तीन महिना थप गरेको छ ।



प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले दोश्रो किस्ता लिने अवधि तीन महिना समय थप गर्ने निर्णय गरेको हो । यस अघि गएको असार २७ मा बसेको समितिको बैठकले गएको वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका प्रभावितले गएको पुस मसान्तभित्र दोस्रो किस्ता लिनुपर्ने समय तोकेको थियो ।

तर तोकिएको समयभित्र सबै लाभग्राहीले दोश्रो किस्ताको रकम नलिएपछि तीन महिनालाई अवधि थप गर्ने निर्णय गसिरएको हो । अब पुस मसान्त सम्ममा दोस्रो किस्ता नलिएका भूकम्प प्रभावितले चैत मसान्तसम्म किस्ता लिन सक्नेछन् ।

प्राधिकरणका अनुसार हालसम्म पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार पाँच सय ७७ छ । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका घर संख्या दुई लाख ३३ हजार ६ सय ७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार पाँच सय ७७ मात्र छ ।

हालसम्म प्राधिकरणको अनुदान लाभग्राहीको सूचीमा सात लाख ६७ हजार सात सय पाँच भूकम्पपीडित छन् । त्यसमा ५ लाख ८४ हजार चार सय ६८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

हालसम्म करीव एक लाख भूकम्पपीडितको घर बनिसकेको प्राधिकरणको तथ्यांक छ ।