पौष १८, काठमान्डौ । २०४७ सालको संविधान र अहिलको संविधानमा चुनावपछि सरकार निर्माणको प्रावधान उस्तै छ । २०४७ सालको संविधान जारी भएपछि २०४८ साल जेठमा भएको पहिलो आम चुनावमा बहुमत ल्याएको कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई तत्काल राजा वीरेन्द्रले प्रधानमन्त्री नियुक्त गरेपछि उहाँकै सिफारिसमा संसदको अधिवेशन सुरु भएको थियो ।
त्यसबेला संसदको अधिवेशन असार ६ गते सुरु भए पनि कोइराला जेठ १५ गते नै प्रधानमन्त्री नियुक्त हुनुभएको संसद सचिवालयको रेकर्डले देखाउँछ । त्यस्तै २०५१ सालमा भएको मध्यावधि र ५६ सालमा भएको आम चुनावपछि पनि संसद अधिवेशनभन्दा पहिलै मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुुनुभएको थियो ।
२०५१ को चुनावपछि सबैभन्दा ठूलो दलका नेता मनमोहन अधिकारीलाई तत्कालीन राजाले मंसिर १३ गते प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसबेला संसदको पहिलो अधिवेशन मंसिर २८ गते सुरु भएको थियो ।
२०५६ को आम चुनावपछि संसदको बहुमत प्राप्त दलका नेता कृष्णप्रसाद भट्टराईलाई जेठ १३ गते प्रधानमन्त्री नियुक्त गरिएको थियो । जति बेला भट्टराईले संसद सदस्यका रुपमा सपथ ग्रहण गरिसक्नुभएको थिएन । त्यसबेला पनि भट्टराई प्रधानमन्त्री हुनुभएको तीन हप्तापछि असार ६ गते संसदको अधिवेशन सुरु भएको थियो ।
अहिले पनि निर्वाचन आयोगले समानुपातिकको सिट निर्धारण गर्ने हो भने चुनावबाट बहुमत ल्याएको वाम गठबन्धनका उम्मेदवार केपी ओली हप्ता दश दिनभित्रै प्रधानमन्त्री बन्नुहुनेछ । तर, संविधानको भावनाअनुसार प्रत्येक पार्टीबाट महिलाको उपस्थिति संघीय संसदमा ३३ प्रतिशत गराउन दलहरु सजग हुनैपर्छ ।
