पाँचौ नेपाली टोपी दिवस रामेछापमा पनि मनाईयो

  • प्रकाशित मिति: सोमबार, पुष १७ २०७४
  • तामाकोसी खबर

रामेछाप । पुस १७ गते,
सोमार पाँचौ नेपाली टोपी दिवस रामेछापमा पनि विशेष कार्यक्रमका साथ मनाईएको छ । कार्यक्रमका प्रमुख जिल्ला अतिथि एवम् जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले युवाहरुले सुरु गरेको टोपी संरक्षणको अभियानमा आफ्नो पनि पूर्ण साथ रहेको बताए । संसारमा फरक पहिचान बोकेको नेपाली टोपी चलनचल्तीमा आउन छोडिसकेको अवस्थामा युवाहरुले जागरुकताका साथ दिवसकै रुपमा मनाउँदै आएकोमा आफू निकै खुशी भएको बताए । नेपाली पहिचानको रुपमा रहेको ढाकाटोपी, भादगाउले टोपी तथा अन्य चल्तीमा रहेका टोपीको संरक्षण गर्न यो अभियान सफल हुने खड्काको विश्वास छ ।
कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले देशका विभिन्न क्षेत्रमा चारवर्ष अघि देखि मनाउँदै आएईको तर गतवर्षबाट जिल्लामा मनाउन थालिएको टोपी दिवसले यसवर्ष औपचारिकता प्राप्त गरेको भन्दै आगामी वर्षबाट नगरपालिका आफैले टोपी दिवस मनाउने गरी तयारी थाल्ने बताए । संसारका अन्य देशमा बसोबास गर्दै आएका नेपालीको शिरमा सधै नेपाली टोपी हुने गरेको र त्यही टोपीकै आधारमा विदेशका नागरिकलाई नेपाली भएको पहिचान गर्न सजिलो हुने भएकाले नेपाली टोपीको आफ्नै महत्व रहेको नगर प्रमुख बस्नेतको भनाई छ ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले पनि टोपी संरक्षणमा युवाहरु जागरुक भएर लाग्नु निकै खुशीको कुरा भएको बताए । उनले टोपीले मात्रै नेपालीको पहिचान अन्य देशमा स्थापित गरेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहाल, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतले टोपी संरक्षणका लागि युवाले सुरु गरेको अभियान सफल हुनेमा विश्वस्त रहेको बताएका छन् ।
कार्यक्रममा जागरुक युवा अभियान नेपाल रामेछापका संयोजक तथा कार्यक्रमका अध्यक्ष निरोजकुमार थापाले मुलुक पहिचान विहिन भएको अबस्थामा सरकारलाई दवाब दिन र दौरा सुरुवाल र नेपाली टोपीलाई राष्ट्रिय पहिचानको रुपमा स्थापित गर्न माग गर्दै आफूहरुले यो अभियानको थालनी गरेको बताए ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिनिध, पत्रकार सहित उल्लेख्य मात्रामा नेपाली टोपी अभियान्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मन्थलीस्थित कर्कलादेवी वोर्डिङ स्कुलका छात्रछात्राहरुले नेपाली मौलिक संस्कृति र पहिचान झल्किने नृत्य प्रस्तुत गरेका थिए । मन्थलीको देवकोटा चोकबाट सुरु भएको ¥यालीमा सहभागि भएका सबैले नेपाली टोपीलाई राष्ट्रिय पहिचान घोषणा गर, हाम्रो देशको पहिचान खोई लगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।