रामेछाप । मंसिर ९ गते,
भोली हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी रामेछापमा पुरा भएको छ । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले शुक्रबार र शनिबार मतदाता परिचयपत्र बितरण गरेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायका अनुुसार जिल्लाको ९० वटै मतदान स्थलबाट मतदाता परिचय बितरण गरिएको बताए । रामेछापका गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा १८ हजार बढि मतदाता रहेका छन् । पुराना २ हजार र नयाँ थपिएको १८ हजार सहिति २० हजार मतदाता परिचयपत्र बितरण हुनुपर्नेमा ६० प्रतिशत १२ हजार मात्रै मतदाता परिचयपत्र बितरण भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
निर्वाचनका लागि जिल्लामा १५ सय २८ कर्मचारी परिचालन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९० मतदान स्थल र १ सय ९१ वटा मतदान केन्द्र रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ मतदाताले निर्वाचनमा भाग लिदै छन् । जिल्लाको ९० मतदान स्थलमध्य १४ अति सम्वेदनशिल , २३ सम्वेदनशिल र ५३ सामान्य अवस्थामा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । अति सम्वेदनशिल मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको समयमा मतदान स्थलमा हुन सक्ने अप्रीय घटनाहरुलाई मध्यनजर गर्दै रामेछापमा २२ सय भन्दा बढि सुरक्षा कर्मी खटिएका छन् । निश्पक्ष र स्वतन्त्र अनि भएरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाईएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले बताए ।
यसैबिच मतदाता परिचयपत्र नभएका र तर भोटर लिस्टमा नाम भएकाहरुले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले मतदाता परिचयपत्र आवश्यक भए पनि हराएको अवस्थामा मतदाता नामावलीमा नाम समावेश भए मतदान गर्न पाउने बताए । उनले मतदाता नामावलीमा नाम समावेश भएका सबैले मतदान गर्नबाट बञ्चित हुनु नपरोस भएर यो व्यवस्था लागू गरिएकाबताए । मतदाता परिचय पत्र नभए पनि मतदाता नामावलीमा नाम भएकाहरुले सरकारले जारी गरेको फोटो सहितको पहिचान खुल्ने नागरिकता, राहदानी, जग्गा धनीको लालपूर्जा, ड्राइभिङ्ग लाइसेन्सबाट पनि भोट हाल्न पाउनेछन् ।