रामेछाप । असोज २७ गते ,
जिल्ला प्रहरी कार्यालय रामेछापले एक कार्यक्रमको आयोजना गरी शुक्रबार ६२ औँ प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालयको प्राङगनमा आयोजित कार्यक्रममा वीर स्मारकमा माल्र्यापर्ण गरिएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेना नन्दबक्स गणका सेनानी मिन बहादुर थापा , रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक राजकुमार थापा , शसस्त्र प्रहरीबलका सुरक्षा वेस मन्थली प्रमुख डिएसपी मेघराज जोशी , पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगाएत अम्बर प्रहरी परिवार र सुरक्षाकमीहरुको सहभागिता थियो ।
सहभागिहरुले वीर स्मारकमा माल्र्यापण गरी वीरगति प्राप्त गरेका प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी प्रमुख प्रकाश अर्यालले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । प्रहरी दिवस समारोहमा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी जवानहरुले खेलेको भुमिका प्रशंसनिय रहेको बताए । स्थानिय तहको निर्वाचनमा रामेछापमा प्रहरी प्रशासनले शान्ति सुरक्षा मजबुत बनाएको बताउदै प्रजिअ लामिछानेले अब मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन आग्रह गरे । कार्यक्रममा वीर गती प्राप्त गरेका प्रहरीका परिवारजनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । प्रहरीचौकी शिरिसे सैपुलाई जग्गा दिने स्थानिय इन्द्र बहादुर सुनुवारलाई सम्मान गरिएको थियो ।