ओखलढुंगा । असोज १ गते,
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभाको लागि पार्टीका जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य बाबुराम गौतमको नाम सर्वसम्मत चयन गरेको छ। प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट रामकुमार कार्की ’नवीन’ र क्षेत्र नं. २ मा मोहनकुमार खड्का ’हिमशिखर’को नाम घोषण गरेको छ ।
ओखलढुंगामा प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र तोकिएको छ । भदौको २३ र २४ गते बसेको जिल्ला सचिवालय समितिको बैठकले उम्मेदवार टुंगो लगाएको हो।
टुंगो लगाएको उम्मेदवारको नाम शनिबार माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । समानुपातिक निर्वाचन पद्धतितर्फ भने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कुल १७ जनाको नाम सिफारिस गरिएको छ। उनीहरुको नाम सार्वजनिक गर्दा पार्टीको हित विपरित हुने भन्दै समानुपातिक सदस्यहरुको नामावली भने सार्वजनिक नगरीएको पार्टीका जिल्ला संयोजक खड्काले बताए । यद्यपी पार्टी केन्द्रको असोज ९ र १० मा बस्ने केन्द्रिय समितिको बैठकपछि भने समानुपातिकका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने उनले जानकारी दिए। उम्मेदवार चयन गरेसँगै चुनावको तयारीका लागि जिल्लामा पार्टी संगठन सुदृढिकरण र प्रचारमा केन्द्रित रहने जिल्ला संयोजक मोहनकुमार खड्का हिमशिखरले जानकारी दिए।
ओखलढुंगामा माओवादीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंग्यायो
- प्रकाशित मिति: आइतबार, असोज १ २०७४
- तामाकोसी खबर