चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १६ २०७४
  • तामाकोसी खबर
१६ भदौ, काठमाडौं । सरकारले आगामी दशैं–तिहार र छठ पर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ । निम्नवर्गलाई लक्षित गरेर सरकारले यसपटक विभिन्न उपभोग्य वस्तुमा छुट अफरसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दुग्ध विकास संस्थानले विभिन्न वस्तुमा छुट सार्वजनिक गरेका छन् ।

आपूर्ति मन्त्रालयका अनुसार, उपत्यकासहित मुलुकका झन्डै तीनदर्जन स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गरिने छ ।



यसपटक सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, पनिर, घ्यू, गेडागुडीदेखि खसीबोकासम्ममा सहुलियत दिइने आपूर्ति मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ कम्पनी लिमिटेडका अनुसार, सुपथ मूल्य पसलमा चिनीमा प्रतिकिलो ५ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइने छ । अन्य वस्तुमा पनि न्यूनतम मुनाफा राखेर उपभोक्तालाई सस्तो दरमा उपलब्ध गराउने संस्थानले बताएको छ ।

सुपथ मूल्य पसलमा खाद्य संस्थानले पनि छुटको अफर गरेको छ । खाद्यले मोटो चामलमा प्रतिकिलो ५ रुपैयाँ र मसिनो बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिइने जनाएको छ । त्यस्तै, खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ र फापरको पीठोमा पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने संस्थानले जनाएको छ ।

दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ । दुग्घ विकास संस्थानले घ्यू र पनिरमा प्रतिकिलो १०–१० रुपैयाँ छुट दिन लागेको हो ।

आपूर्ति मन्त्रालयका अनुसार संस्थानलाई स्वीकृत बजेटबाटै कटाउने गरी छुट सुविधा प्रदान गर्न निर्देशन दिइएको छ । मन्त्रालयले साल्ट ट्रेडिङलाई चिनी र नुनको सहुलियतबापत १ करोड ८५ लाख रुपैयाँ र खाद्य संस्थानलाई ६० लाख रुपैयाँ बजेट सहुलियतबापत खर्च गर्न स्वीकृत दिएको छ ।

त्यस्तै, नेपाल आयल निगमले भने दशैं, तिहार र छठका समयमा आपूर्ति व्यवस्थामा कुनै असहजता नहुने स्पष्ट पारेको छ ।