रामेछाप । भदौ १५ गते ,
राज्य नयाँ संघिय संरचनामा गएपछि राज्यका निकायहरुले नयाँ संरचना अनुसार काम गर्दाका समस्या र ती समस्याको समाधानको उपाय खोजि गरी नागरीकमा प्रभावकारी सेवा प्रवाहको उपाय खोजिगर्न रामेछाप जिल्लामा सार्वजनिक–निजि कार्यसमुह (पिपिडब्लुजी) गठन भएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा ०७४ भदौ १४ गते बसेको बैठकले सो समुह गठन गरेको हो ।
जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, महिला तथा बालबालिका, विपत व्यवस्थापन लगायतका क्षेत्रमा पछिल्लो संरचना अनुसार भई रहेका काम र कार्यसम्पादनको क्रममा आएका समस्या लगायतका विषयमा छलफल गरी समस्या समाधनको उपायको समेत खोजि गर्न सो समुह बनाइएको हो ।
समन्वय समितिका प्रमुख खड्काको संयोजकत्वमा गठित समुहमा जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार इकाई तथा नागरिक समाजका विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरु रहेका छन् । समुहमा काम गर्दाका समस्यको बारेमा नियमित छलफल गरी त्यसको समाधानको लागि जिल्ला समन्वय समिति लगायतका राज्यका निकाय मार्फत प्रयास खोजिने संयोजक खड्काले बताए ।
बैठकमा सहभागि विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिले गाउँपालिका र नगरपालिकामा आप्mना कर्मचारीहरु खटिएका भए पनि उनीहरुले कामको जिम्मेवारी नै नपाएका बताए । कतिपय प्राविधिक कर्मचारीहरुलाई प्रशासनिक काम जिम्मा लगाउँदै दुवैतिरको काममा समस्या आएको उनीहरुको गुनासो थियो । साथै कर्मचारी खटाए पनि स्थानीय तहले बजेट नछुट्याएको कारण काममा समस्या भएको उनीहरुको भनाई थियो । बैठकमा सबैलाई राखेर छलफल गरी समस्याको समाधान खोजिने जिल्ला समन्वय समितिका प्
रमुख खड्काले बचन दिए ।
समुहमा समन्वय समितिका प्रमुख प्रेम खड्का, महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारी, जिल्ला पशु सेवा कार्यालयका पशुचिकित्सक डाक्टर महेश देउवञ्जार, जिल्ला स्वास्थ्य कार्यालयका निरिक्षक केशव फुयाँल, जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रास शिवनारायण रान, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक भरतबहादुर भट्टराई रहनु भएको छ । यसैगरी नागदह गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष सोमबहादुर तामाङ्ग र खाँडादेवी गाउँपालिका ६ माकादुमका वडा अध्यक्ष पुष्कर कार्की पनि समुहमा रहनु भएको छ ।
रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेल, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ, बालअधिकारकर्मी लव श्रेष्ठ, दिदीबहिनी महिला बचतकी अध्यक्ष पार्वती पाठक, दलित अधिकारकर्मी लेखबहादुर बिक, सुशासनकर्मी उमंग मैनाली, मानवअधिकारकर्मी नवराज पथिक, डिएचएमजिएनकी सचिव सम्झना श्रेष्ठ, हुसोक रामेछापकी कोषाध्यक्ष सृजना कार्की रहेका छन् । समुह युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक दोलखाको साझेदारीमा सञ्चालित सिएसःम्याप अन्तर्गत गठन भएको हो ।
रामेछापमा सार्वजनिक–निजि कार्यसमुह गठन
- प्रकाशित मिति: बिहिबार, भाद्र १५ २०७४
- तामाकोसी खबर