बन्द रहेको रामेछापको एकमात्रै शल्यक्रिया प्रशुती सेवा भदौबाट पुन संचालन हुने

  • प्रकाशित मिति: बुधबार, साउन ३२ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन ३२ गते,
गत असार मसान्तबाट बन्द रहेको रामेछाप जिल्लाको पहिलो आकस्मिक शल्यक्रिया प्रशुती सेवा भदौबाट संचालन हुने भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार पत्रकारसंग अन्र्तक्रिया गरी बन्द रहेको शल्यक्रिया भदौ महिना भित्र पुनसंचालन गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा विभिन्न कारणले बन्द रहेको सेवा संचालनका लागि अख्तियारी आईसकेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहाले बताए । उनले २४ घण्टे आकस्मिक शल्यक्रिया प्रशुती सेवा संचालनका लागि ४० लाख रकम यो बर्षका लागि आएको बताए । सेवा संचालनका लागि दक्ष जनशक्ति नरहेकाले तत्काल सूचना मार्फत कर्मचारीको पद पुर्ती गरिने र भदौ अन्तिम सम्म जुनसुकै हालतमा सेवा पुन सुचारु गर्ने उनको भनाई छ ।
उनले सेवा संचालनका लागि करारबाट कर्मचारी राख्नुपर्ने भएकाले यस्ता समस्या फेरी दोहोरिन सक्ने बताए । तरसमयमै सरोकारवाला निकायसंग समन्वय गरेर यस्ता समस्या दोहोरिन नदिन आफुहरु चनाखो रहेको उनको भनाई छ । स्थानीय तह बनेसंगै स्वास्थ्य क्षेत्रमा पनि विभिन्न अन्योलताहरु भएकाले समस्या भैरहेको डा. साहाको भनाई छ । उनले संघियता कार्यान्यन सँगै स्थानिय स्तरमा स्वास्थ्य कर्मी व्यवस्थापनमा लागि परेको बताउदै जिल्लाभरीका स्वास्थ्य सेवा लाई थप प्रभावकारी बनाउने उल्लेख गरे । २०७२ साल बैशाख महिनादेखी संचालन भएको २४ घण्टे आकस्मिक शल्यक्रिया प्रशुती सेवाबाट २०७४ असार मसान्त सम्म १ सय ३१ जना गर्भवती महिलाहरुलाई सल्यक्रियाबाट सुत्केरी गराईएको थियो । यो सेवा बन्द भएसंगै धेरै शल्यक्रिया गराएर सुत्केरी गराउनुपर्ने गर्भवती महिलाहरु काठमाण्डौं जान बाध्य छन् ।