रामेछाप । साउन १६ गते,
रामेछाप जिल्लाको सबै स्थानीय तहको केन्द्रबाट फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम सुरुभएको छ । जिल्ला निर्वाचन कार्यालयले सोमबारबाट जिल्लाको २ नगरपालिका र ६ गाउँपालिका केन्द्रबाट एकैसाथ मतदाता नामावली संकलन कार्यक्रम सुरु गरेको हो । जिल्ला सदरमुकाम मन्थलीबाट साउन १ गतेदेखिनै मतदाता नामावली तथा त्रुटि सच्याउने कार्य गरिएको भएपनि निर्वाचन आयोगको निर्देशन बमोजिम अन्य ठाउँमा भने सोमबार बाट कार्यक्रम संचालन गरिएको निर्वाचन कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।
जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरुले उत्साहजनक सहभागिता जनाएको उनको भनाई छ ।
उनले साउन १ गतेदेखी १५ गते सम्मको तथ्याङकलाई हेर्दा १९ सय १० जना मतदाताले नाम दर्ता गराएको बताए । यसलाई हेर्दा जिल्लामा मतदाता सङख्या धेरै बढ्ने उनको भनाई छ । कार्यलय प्रमुख उपाध्यायले आआफ्ना गाउँपालिका र नगरपालिकाको केन्द्रमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरे । नाम दर्ता गर्ने महत्वपुर्ण आधार भनेको नागरिकता भएकाले त्यसको प्रतिलिपि साथै लिएर जान आग्रह गरे । २ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लावाट स्थानीय तह निर्वाचन २०७४ मा झण्डै १ लाख २४ हजार मतदाताले भाग लिएका थिए । मनदाता नामावली संकलन कार्यक्रम साउन ३२ गते बुधबार सम्म ८ वटै स्थानीय तहबाट संचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रामेछापको सबै स्थानीय तहको केन्द्रबाट फोटो सहितको मतदाता नामावली संकलन
- प्रकाशित मिति: सोमबार, साउन १६ २०७४
- तामाकोसी खबर