रामेछाप । साउन ४ गते,
रामेछाप जिल्लाको लिखु गाउँपालिकाले खिम्ती बाढि पहिरोमा परी पिडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले लिखुगाउँपालिका वडा नम्बर ६ खिम्तीमा असार ३१ गते मध्यराती आएको बाढिमा परेर ज्यान गुमाउनेका परिवार , घर क्षेती भएका परिवार र बस्तीनै सार्नुपर्ने परिवारलाई नगद उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढि पहिरोमा परि ज्यानगुमाउने २ र वेपत्ता हुने ३ गरि ५ परिवारलाई प्रतिपरिवार २५ हजार ,घर बाढिले क्षति गरेका परिवारलाई प्रतिपरिवार लत्ता कपडा र भाडाकुडा सहित ६५ हजार र वस्ती जोखिम भएर सार्नुपर्ने परिवारलाई प्रति परिवार ५० हजारका दरले नगद सहयोग उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । सो रकम बुधबार बितरण गरिने बताइएको छ ।
असार ३१ गते शनिबार मध्यराति अविरल बर्षसंगै आएको बाढी पहिरोमा परि वेपत्ता भएका २ जनाको ज्यान गएको छ भने ३ जना अझै वेपत्ता छ । लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा आइतबार फेला परेको थियो ।
घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजि कार्य जारी छ । घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको काठमाडौँको वीरअस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।