रामेछाप । असार २५ गते,
जिल्ला कृषि विकास कार्यालय रामेछापले संचालन गरेको कार्यक्रम र सार्वजनिक सेवाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार रामेछाप नगरपालिकाको वडा नम्बर ६ ओख्रेनीको भालुखोपमा सम्पन्न भएको छ । मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र हुसोको समन्वयमा जिल्ला कृषि विकास कार्यालयले सो कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्ल, कृषि सेवा केन्द्र रामेछापका प्रमुख रामरतन महतो जवाफदेही बक्ता थिए । कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत मल्लले आर्थिक बर्ष २०७३÷७४ मा कृषि प्रशार कार्यक्रम अन्तर्गत संचालन भएका विभिन्न कार्यक्रम र जुनार पकेट क्षेत्रमा संचालित कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि स्थानीय किसानहरुले कृषि प्राविधिकहरुले किसानहरुलाई समय नदिँदा प्राविधिक ज्ञान लिन समस्या भएको गुणासो गरेका थिए । उनीहरुले कृषि कार्यालय मार्फत अनुदानमा आएको बिरुवा तथा बिउ बिजनको गुणस्तर नभएको, अनुदानमा ल्याएको प्लाष्टिकका क्रेटहरु थोत्रा भएको गुणासो गरेका थिए ।
वडा अध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र हुसोकका सचिव उमङ्ग मैनालीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापमा अध्यक्ष रमेश ढुँगेल, जिल्ला स्थिति राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रामेछाप नगरपालिका ओख्रेनीमा सार्वजनिक सुनुवाई
- प्रकाशित मिति: आइतबार, असार २५ २०७४
- तामाकोसी खबर