रामेछाप । असार २३ गते,
स्थानीय तहको निर्वाचको मतगणना सकिएको एक महिना भित्र निर्वाचनमा भएको खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्थालाई रामेछापका राजनीतिक दलहरुले वेवास्ता गरेका छन् । निर्वाचनमा भाग लिने अधिकाँस उम्मेदवारहरुले अहिलेसम्म पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय रामेछापको तथ्याङ्क अनुसार गएको बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा रामेछाप जिल्लामा १ हजार २ सय ५४ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा थिए । ती मध्ये ७५ जनाले मात्र हालसम्म कार्यालयमा खर्च विवरण बुझाएका छन् । बाँकि उम्मेदवारहरुले खर्चको विवरण बुझाएका छैनन् ।
खर्चको विवरण नबुझाउनेमा गाउँपालिका र वडाका उम्मेदवार मात्र हैन नगरपालिकाकै विजयी तथा पराजित प्रमुख र उपप्रमुखका उम्मेदवार समेत छन् । जिल्लाको रामेछाप नगरपालिकाका विजयी तथा पराजित प्रमुख, उपप्रमुख र वडा तहका कुनै पनि उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । सो नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् । 
सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका विजयी प्रमुख एमालेका रमेश वस्नेत र उपप्रमुख मायाँ कार्कीले पनि चुनावको खर्चको विवरण बुझाएका छैनन् । उता नगरपालिकामा पराजित भएका काँग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु विनोद कार्की र गंगा अधिकार चुनावमा खर्च भएको विवरण बुझाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ र रितादेवी घिमिरेले पनि आप्mनो खर्चको विवरण बुझाएका छैनन् । श्रेष्ठ पूर्वसभाषद समेत हुन् । मन्थली नगरपालिकाका ५ जना निर्वाचित सदस्यहरुले मात्र अहिलेसम्म खर्चको विवरण कार्यालयमा बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयमा हालसम्म लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का र उपाध्यक्ष दीपशिखा दाहाल, खाँडादेवीका प्रेमबहादुर तामाङ र मखमली श्रेष्ठ, दोरम्बाका कमानसिंह मोक्तान र कृसला घिसिङ तथा सुनापतिका धावा लामा र गिता विष्ट चौलागाईँले भने खर्चको विवरण बुझाएका छन् । रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका एकजनाले पनि खर्चको विवरण नबुझाएको कार्यालयका कम्प्युटर अपरेटर लोकेन्द्र थापाले बताए । यस विषयमा जिज्ञाशा राख्दा मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले खर्चको विवरण तत्काल बुझाउने बताइन् ।
जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउनेमा रामेछापका ८ वटा स्थानीय तह मध्ये ४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेका छन् । ती मध्ये सबैभन्दा धेरै खर्च गर्नेमा दोरम्बा गाउँपालिकाका अध्यक्ष देखिएका छन् । दोरम्बाका अध्यक्ष कमानसिंह मोक्तानले पेस गरेको खर्चको विवरणमा उनको चुनावी खर्च ३ लाख ३९ हजार उल्लेख गरिएको छ । उपाध्यक्षमा पनि सबैभन्दा बढी खर्च गर्ने दोरम्बाकी कृसला घिसिङ रहेकी छिन् । उनले निर्वाचनमा ३ लाख २६ हजार खर्च भएको बिल भर्पाई बुझाएकी छिन् । दुवैजना माओवादी केन्द्रबाट विजयी जनप्रतिनिधि हुन् ।
रामेछापमा चुनाव लड्ने १२ सय ५४ जना , खर्च विवरण बुझाउने ७५ जना ( क–कसले बुझाए खर्च विवरण हेर्नुहोस् )
- प्रकाशित मिति: शुक्रबार, असार २३ २०७४
- तामाकोसी खबर