निरोज कुमार थापा,
असार १७, मन्थली ।
रामेछापका ट्रक ब्यवसायीले गत बुधबारबाट सुरु गरेको आन्दोलन स्थगित भएको छ । शुक्रबार रामेछाप उद्योग बाणिज्य संघमा बसेको ब्यवसायिहरुको भेलाले जिल्ला प्रशासन कार्यलय रामेछापको समन्वय र रामेछाप उद्योग बाणिज्य संघको पहलमा आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको तामाकोशी ढुवानी सेवा समितीले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
समितीका अध्यक्ष रविन कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार मसान्तभित्र ढुवानी व्यबसायिका माग सम्बोधन नभए श्रावण १ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिईएको छ । यसैबीच रामेछाप उद्योग बाणिज्य संघले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । तामाकोशी ढुवानी सेवा समितीले आफूहरुलाई विपी राजमार्गमा निर्वाध रुपमा सवारी चलाउने बाताबरण बनाईदिन माग गर्दै आन्दोलन थालेपछि जिल्लामा दैनिक उपभोग्य र बिकास निर्माणका सामान ढुवानी हुन नसकेपछि उद्योग बाणिज्य संघले चासो देखाएको हो । संघका अध्यक्ष श्याम थापाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा १२ चक्के मालवाहक गाडी चल्न पाउने गरी सरोकारवाला निकायमा आबश्यक पहल गरिदिन आग्रह गरएको छ ।
पत्रमा जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला समन्वय समिती रामेछापलाई आबश्यक सहयोगको लागि अपिल गरिएको छ । तामाकोशी ढुवानी सेवा समितीका अध्यक्ष रविन कार्कीले भने उद्योग बाणिज्य संघको आग्रहमा अहिले चलिरहेकै अबस्थामा आफूहरुका मालवाहक सवारी चल्ने र १५ दिनको समयसिमा भित्र आफूहरुका माग सुनुवाई नभए र आफ्ना गाडीहरु सिन्धुली – खुर्कोट – मन्थली हुँदै चरिकोटसम्म पुग्ने बाताबरण नभए निर्णायक आन्दोलन थाल्ने चेतावनी दिएका छन ।
