असार १४, रामेछाप ।
विपी राजमार्गमा ठुला गाडी चलाउन नदिएको भन्दै रामेछापका ब्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएको छ । जिल्लाका सरोकारवाला निकायहरुसंगको छलफलमा मंगलवार तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष रविन कार्कीले ढुवानी सेवा ठप्प पारेर आन्दोलनको विकल्प नभएको बताएको हो ।
बाटोको कारण देखाई व्यवसायीहरुसंग मिलेर सिन्धुली प्रशासनले रामेछापका निर्माण व्यवसायी, उद्योग व्यवसायी तथा यातयात व्यवसायीलाई ज्यादति गरेको तामाकोसी ढुवानी सेवा समितिको आरोप छ । १० चक्के गाडि चल्न दिने, भारवहन क्षमता लागु गर्ने पटक–पटकको सहमति उल्लंघन गर्दै अनेक बहानामा व्यवसायीलाई दुखमात्र दिने काम गरेको प्रति राज्य चुप बस्न नहुने उनीहरुको भनाई छ । दश टनभित्र चलाउन राज्यले बनाएको नितिनै गलत नियतले बनाएकोले खारेज गर्न माग गर्दै राज्यलाई आन्दोलन बाट दवाव दिने समितिको तयारी छ ।
कार्यक्रममा मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले सिधै आन्दोलनमा जान नहुने बताउनु भयो । उहाँले जिल्लाको निर्वाचित जनप्रतिनिधीहरुसंगको बैठकमा यसबारे छलफल गरी सम्बन्धित निकायसम्म समन्वय गर्ने बताउनु भयो । राजनितिक दलका प्रतिनिधीहरुले आन्दोलन गर्ने नभई छलफलको बाटोबाट समस्याको समधान खोज्न सुझाव दिइएको छ । आफुहरुले यस विषयमा पार्टीको केन्द्रिय नेता तथा सरकारसंग छलफल गरी निकास खोज्ने प्रतिबद्धता समेत जनाएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति लवश्री न्यौपाने, नेकपा एमालेका अध्यक्ष शान्ति प्रसाद पौडेल, मालेका ओमबाबु पुरी, नेपाल पत्रकार महासघका अध्यक्ष रमेश ढुङ्गेल, जिल्लाका उद्योग व्यवसायी, यातायात व्यवसायी, निर्माण व्यवसायी लगाएतको सहभागिता रहेको थियो ।