काठमाडौं ,३ असार । शुक्रबार सार्वजनिक भएको एसर्ईई परीक्षामा रूपन्देही सैनामैनाका आदर्श पाण्डेय चार जीपीए प्राप्त गरी सर्वोत्कृष्ट भएका छन् । सैनामैना–८ स्थित रामापुर रिभाइबल स्कुलका पाण्डेयले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेपछि खुसियाली छाएको छ ।
रूपन्देहीमा गत वर्ष पनि मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी छात्रा समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन् । विद्यालयका प्राचार्य कृष्ण शर्माले पाण्डेले ४ जीपीए कुनै विद्यार्थीले नल्याएको दाबी गर्दै पाण्डेय नै नेपाल प्रथम भएको बताए । उनले आशिष नर्सरीदेखि नै आफ्नो विद्यालयमा पढेको बताए । आशिषले ४ जीपीए ल्याएपछि विद्यालयले शनिबार विजयोत्सव ¥याली निकाल्ने तयारी गरेको छ । उनी १८ माघ २०५७ मा जन्मिएका हुन् । उनका बुबा खेमराज पाण्डे सरकारी शिक्षक हुन् भने आमा खुमादेवीले आशिषले पढ्दै आएको रिभाइबलमै शिक्षण गर्दै आएकी छिन् ।
०४८९९५३ ‘आई’ उनको सिम्बोल नम्बर हो । राजधानीबाट आशिषले प्रत्येक विषयमा ए प्लस (चार जीपीए) ल्याएका छन् । आशिषले आफ्नो मिहिनेतको फल प्राप्त भएको भन्दै यसको श्रेय गुरुहरूलाई जाने बताए । विद्यालयका मिहिनेती र अब्बल विद्यार्थी रहेको र उनी सधैं कक्षा प्रथम हुने उनका बुबा खेमराज पाण्डेयले बताए । उनले छोराले रूपन्देही जिल्लाकै इज्जत बढाएको भन्दै उसले चाहेको विषय पढाउने बताए ।
यता रामेछाप जिल्लाभर रहेका सामुदायिक विद्यालय मध्ये नमूना बनाउन सफल भएको डहु मावि बेथानले यस बर्षको एसईई परीक्षामा जिल्लाकै प्रथम नतिजा हासिल गर्न सफल भएको छ । अहिले सम्म सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाभर सञ्चालनमा रहेको सामुदायिक विद्यालय र बोर्डिङ स्कुललाई पछि पादै डहु माविकी लक्की लामा रामेछाप जिल्लाका प्रथम हुन सफल भएकी छिन् ।
विद्यालयमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको साथ नै सफलताको कारण बनेको छ । डहु मावि बेथानबाटै जिल्ला प्रथमसँगै सामुदायिक विद्यालय तर्फबाट छात्राहरु मध्ये इभान्जेलिना वल, रमिना योञ्जन, सनिम लामा ३.६० जेपिए सहित जिल्ला दोस्रो भएका छन् ।
