रामेछाप । जेठ २५ गते,
नेपाल टेलिकमले दिने सबै सेवा दिनमा कयौ पटक प्रभावित भएपछि रामेछापका सेवाग्राहीहरु दिक्क भएका छन् । टेलिकमको सेवा प्रति दिक्कमात्रै हैन नागरिकहरु रुष्ट समेत बन्दै गएका छन् । यसभन्दा अगाडि पनि कयौपटक टेलिकमको सेवामा समस्या आएको भएपनि सुधार भएको र अहिले आएर फेरी उहि समस्या दोहोरिएको सेवाग्राही सन्तोशी श्रेष्ठले बताईन् । अहिले ईन्टरनेटबाटै विश्वका खबरहरु थाहा हुने भएकाले नेट र फोन दिनमा कयौ पटक आउने र जाने भएपछि आफुहरु खबरबिहिन भएको उनको भनाई छ । जिल्लामा नेट फोन नहुदा ईमेल मार्फत हुने सबै काम अवरुद्ध भएको मन्थलीकी मनिसा खत्री बरुवालले बताईन् । उनले अहिलेको समयमा अफिसका महत्वपुर्ण कामहरु इमेलवाटै हुने भएकाले जिल्लामा नेट फोननै नहुदा पनि टेलिकम रमिता हेरेर बसिरहेको आरोप लगाईन् ।
यता नेपाल टेलिकम जिल्ला शाखा रामेछापका प्रमुख बिष्ण प्रसाद भट्राईले भने काठमाण्डौ , धुलिखेल, मुडे, चरिककोट हुदै आउने ट्रान्समिशन प्रणलीमा समस्या भएको बताएका छन् । उनले ट्रान्समिशन प्रणलीमा देखिएको समस्या निराकरणका लागि टेलिकमको प्राविधिक टोलीले काम गरिरहेको बताए । कहिले सम्म बन्ने र समस्या निराकरण हुने भन्ने बारेमा भन्न नसकिए पनि आफुहरु चाडो भन्दा चाडो समस्याको समाधान तिर लागेको बताएका छन् ।
विभिन्न समयमा स्पेसल प्याकेज ल्याउने टेलिकमको नियमित सेवाको गुणस्तर भने दिनदिनै खस्कदै गएको गुणासो गर्ने सेवाग्राहीहरु बढ्दो छ । प्याकेज ल्याएर नागरिकको आँखामा छारो हाल्नुभन्दा नियमित दिने सेवाको गुणस्थर बढाउनका लागि नेपाल टेलिकम लाग्नुपर्ने सेवाग्राहीको माग छ । ल्याण्डलाईन फोन पटक पटक बन्द हुने , एउटा नम्बरमा फोन गर्दा अर्कैकोमा जाने, फोन गर्दा इङ्गेज टोन बज्ने र कतै पनि फोन नलाग्ने समस्या छ । त्यस्तै टेलीकमले सञ्चालन गरेको एडिएसएल इन्टरनेट सेवा दिनमै कयौँपटक कट्ने तथा अति ढिलो चल्ने समस्या छ । पछिल्लो सयमा मोवाइल सेवामा समेत समस्या देखिएको छ । मोवाइल फोनमा कुरा गरेको नबुझिने, मोवाइलमा फोन नलाग्ने तथा पटक पटक कट्ने समस्याले उपभोक्ताहरु हैरान भएका छन् ।
रामेछाप टेलिकमले प्रभावकारी सेवा नदिएपछि सेवाग्राही दिक्क
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २५ २०७४
- तामाकोसी खबर