शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका ताराप्रसाद अधिकारी मेधावी र अब्बल प्रशासकका रूपमा चिनिन्छन् । शिक्षण पेसा छाडेर उनी निजामती सेवामा फड्किएका थिए । लोकसेवा आयोगले गत वर्ष लिएको प्रशासनतर्फको सहसचिव पदमा अधिकारी सर्वोत्कृष्ट भए । त्यसो त ०६७ को उपसचिव तहको परीक्षामा पनि उनी नै ‘टपर’ थिए । सहसचिव हुनासाथ कास्कीमा प्रमुख जिल्ला अधिकारीको जिम्मा सम्हाल्ने अवसर पाएका अधिकारीसँग निजामतीमा आफ्नो संघर्ष र सेवा अनुभव मात्रै होइन, लोकसेवाका सफललताका सूत्र पनि छन् ।
निजामतीमा पहिलो पाइला
०६२ पुस १९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेँ । त्यसअघि विद्यालयमा गणित र विज्ञान विषयको शिक्षक थिएँ । बेतनसहितको सार्वजनिक सेवा गर्न पाइने विश्वासले नै यतातिर फड्को मार्ने जाँगर चल्यो । जीवन निर्वाहका लागि यो ठूलो अवसर पनि हो । राष्ट्र र जनताको सेवा गर्ने अवसर मिल्छ भनेर पनि यो क्षेत्र रोजेँ ।
स्कुलदेखिको ज्ञान उपयोगी
पोखरास्थित विन्ध्यवासिनी मावि वरपाटनबाट स्कुलको पढाइ सकेको थिएँ । स्कुल पढ्दाताका अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ । हाजिरी जवाफमा सबैभन्दा बढी रुचि थियो । भाग लिएपछि प्रायः दोस्रो हुनुपरेन । त्यतिवेलै सामान्य ज्ञान, राष्ट्रिय-अन्तर्राष्ट्रिय ज्ञानहरू पढ्ने बानी बसेको थियो । तर, लोकसेवा पास गरेर सरकारी सेवामा लाग्ने सोच भने त्यतिवेला थिएन । स्कुलको पढाइ सकेपछि ज्ञान विस्तारको आकांक्षा झन् फैलिँदै गयो । क्याम्पसको पढाइ सकेर प्राध्यापक बन्ने सपना थियो । तर, बिस्तारै फरक रंग चढ्न थाल्यो । आफूमा उपलब्ध ज्ञान उपयोग गर्ने स्थानका रूपमा निजामती सेवा रोज्न पुगेँ । ज्ञानका पुस्तक पढ्ने बानीले पनि निजामती क्षेत्र मेरा लागिण् सहज बन्यो । यो सेवामा नआएको भए प्राध्यापक नै बन्थे हुँला ।
पहिलोपटकमै निस्कियो नाम
कास्कीमा लोकसेवाप्रति खासै आकर्षण थिएन । तर, बिस्तारै चासो बढ्ने क्रम थियो । यही मेसोमा मलाई पनि यतैतिरको रंग चढ्यो । शाखा अधिकृतको परीक्षा दिएँ । पहिलोपटकमै नाम निस्कियो । यसको पाँच वर्षपछि उपसचिवमा परीक्षा दिएँ, एक नम्बरमै नाम निस्कियो । गत वर्षको प्रशासनतर्फको सहसचिव पदमा पनि सर्वोत्कृष्ट नतिजा मिल्यो ।
निजामती प्रशासनमा अनुभव
हाम्रो प्रशासन संयन्त्र योग्यता प्रणालीमा निष्पक्ष छ । तर, छानिएपछि पदस्थापन, सरुवा तथा कार्यशैली सोचेजस्तो सकारात्मक छैन । हाम्रोजस्तै आर्थिक अवस्था भएका अन्य मुलुकमा निजामती कर्मचारीका लागि सेवा सुविधा हामीकहाँ भन्दा अत्यधिक धेरै छ । यो अवस्थामा जनताको सेवामा कर्मचारी खट्नुपरिरहेको छ । तर, सेवा सन्तोषजनक भएन भन्ने जनताको गुनासो उत्तिकै छ ।
कर्मचारीतन्त्र एउटा काँचो माटोजस्तै हो । राजनीतिले जस्तो बनाउन चाहन्छ, यो त्यस्तै बन्छ । काम नलाग्ने, जुम्सो, अल्छी, प्रक्रियामुखीजस्ता आरोप हामीमाथि छ । तर, समग्रमा कर्मचारीतन्त्र खराब भन्न मिल्दैन । राजनीतिक नेतृत्व सच्चिएर कर्मचारीतन्त्र पनि सच्याउनुपर्छ । संघीयता कार्यान्वयनको यो संक्रमणकालीन अवस्थामा प्रशासन संयन्त्रलाई जनमुखी बनाउन राजनीतिक नेतृत्वलाई ठूलो अवसर छ ।
मैले बुझेको निजामती सेवा योग्य र सक्षम छ । योग्यता र सक्षमताकै आधारमा व्यक्तिहरूको छनोट हुन्छ । परीक्षा पनि प्रतिस्पर्धात्मक प्रणालीबाटै सञ्चालन हुने गर्छ । तर, सेवाप्रवाह गर्ने क्रममा भने योग्यता प्रणालीले काम गरेको खासै देखिँदैन । तर, राम्रा प्रशासक छँदै छैनन् भनेको होइन । लोकतान्त्रिक पद्धति संस्थागत गर्न कर्मचारीले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । सबैलाई सोलोडोलो रूपमा एकै डालोमा राखेर हेर्न मिल्दैन । राजनीतिक अस्थिरता र समाजमा धनलाई सर्वेसर्वा मान्ने संस्कृतिका कारण पनि समस्या निम्तिने गरेको छ ।
केही कर्मचारीले गलत खालका राजनीतिक नेतृत्वसँग मिलेमतो गरेर तथा व्यापारीसँग साँठगाँठ गरेर आफ्नो आचरण र नैतिकताको सीमा नाघेका छन् । तर, यस्ता कर्मचारीको संख्या निकै कम छ भन्ने मेरो बुझाइ हो । यस्ता कर्मचारीका कारण सिंगो निजामती प्रशासन नै खराब र नैतिकहीन छ भन्न हुँदैन ।
सेवाग्राहीको चाप हुने स्थानमा राम्रा र नैतिकवान् कर्मचारी खटाउन सके बेग्लै प्रतिफल आउँछ । तर, विगत केही वर्षदेखि यस्ता ठाउँमा राजनीतिक नेतृत्वसँग अवाञ्छित गठबन्धन गर्ने कर्मचारीलाई पदस्थापन गराउने होडबाजी चलेको छ । यसकारण प्रशासन खराब भयो भन्ने आरोप छ । अब प्रशासनमा आध्यात्मिकता जरुरी छ । हामीले पूर्वीय दर्शन बिर्सिंदै जान थालेका छौँ । मन र भावना नहुँदासम्म विवेकशीलताले मात्रै सार्वजनिक प्रशासनलाई उत्कृष्ट बनाउन असम्भव छ । प्रशासन चलाउन ‘इमोसनल इन्टिलिजेन्स’, आध्यात्मिकता र ‘इन्टिग्रेटी’ आवश्यक पर्छ ।
मेरो सफलताको रहस्य
कुनै पनि व्यक्ति निजामती सेवामा प्रतिस्पर्धाको तयारी गर्दा ‘म शासक बन्न होइन, जनताको सेवक बन्न खोज्दै छु’ भन्ने विचार पुर्याउनुपर्छ । यो सेवा अवधिका लागि पनि निकै उपलब्धिमूलक हुन्छ । मैले यसरी नै तयारी गरेको थिएँ । लाग्छ, यसकारण पनि उपसचिव र सहसचिवमा सहजै नाम निकाल्न सकेँ । कुनै पनि विषयको ‘थेसिस’, ‘एन्टीथेसिस’ र ‘सिन्थेसिस’ हुन्छ । परीक्षा दिनुअघि यो कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । अध्ययन गर्दा बहुआयमिक दृष्टिकोण हुनुपर्छ । सार्वजनिक प्रशासन र अन्तर्राष्ट्रिय अवधारणालाई अध्ययन गर्नुपर्छ । सकेसम्म ‘ओरिजनल टेक्स्ट’मा आधारित भएर तयारी गर्नुपर्छ । संग्रह गरिएको, उद्धरण गरिएकोभन्दा पनि ‘ओरिजनल टेक्स्ट’मा नै बढी ध्यान दिनुपर्छ । विषयवस्तुलाई गहिरोसँग बुझ्ने प्रयास गर्नुपर्छ । कार्यालयको कामलाई मन, वचन र कर्मले पूरा गर्दै जाने हो भने पनि परीक्षालाई सहयोग पुर्याउँछ ।
मैले कार्यालयमा खासै बिदा लिइनँ । कार्यालयको काम गर्दै परीक्षाको तयारी गर्दा झनै सहयोग पुग्छजस्तो लाग्छ । कार्यालयको कामले व्यावहारिक बनाउँछ । लोकसेवाको परीक्षामा सैद्धान्तिक विषयसँगसँगै व्यावहारिक ज्ञान पनि आवश्यक पर्छ । सिद्धान्त, व्यवहार, दर्शन र सार्वजनिक सेवाको भावनाको संयोजन परीक्षाका लागि चाहिन्छ । निजामती सेवामा प्रवेश गर्न चाहनेले जनताले भोगिरहेका समस्या, सार्वजनिक प्रशासनका जल्दाबल्दा सवाल, अन्तर्राष्ट्रिय जगत्का समसामयिक प्रशासनिक अवधारणाको विषयमा पनि अपडेट भइरहनुपर्छ । सबैभन्दा मुख्य कुरा निरन्तर अध्ययन गर्नुपर्छ भन्ने मेरो अनुभव हो ।
पढाइको सही व्यवस्थापन
लोकसेवामा सफलताका लागि हरेक दिन न्यूनतम तीन घण्टा पढ्नुपर्छ । सुरुदेखि नै पढ्नुपर्छ । परीक्षा नजिकिएपछि मात्रै घोटिएर हुँदैन । अध्ययन र ज्ञानका लागि मनमा राम्रो वातावरण बनाउन सक्नुपर्छ । मनमा प्रतिबद्धता हुनुपर्छ । ज्ञान विस्तारको उद्देश्य हुनुपर्छ । ज्ञानको विस्तार गर्ने लक्ष्य राख्नेबित्तिकै सफलता हासिल गर्न सकिन्छ ।
सफलताका लागि कुनै छुट्टै नियम छैन । प्रत्येक व्यक्तिको आफ्नो मौलिक र विशिष्ट क्षमता हुन्छ । विशिष्ट क्षमतालाई निर्धारित समयभित्र ‘म्याक्सिमाइज’ गर्नुपर्छ । लोकसेवाका माथिल्ला तहमा नाम निकाल्न नेपालको संविधान, निजामती सेवा ऐन नियम, सुशासन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी ऐन नियम, सार्वजनिक खरिद ऐन, बजेट, नेपाल सरकारको नीति तथा कार्यक्रम, आवद्यिक योजना, विभिन्न मन्त्रालयले प्रकाशन गरेका नीति, प्रतिवेदन, मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय, व्यवस्थापिका संसद्मा उठेका महत्वपूर्ण सवाल, विभिन्न पत्रपत्रिकामा सञ्चारकर्मीले उठान गरेका गम्भीर विषय, सार्वजनिक सेवाका दिग्गजका अन्तर्वार्ता र लेख नियमित रूपमा पढ्ने र संग्रह गरेर राख्ने गर्नुपर्छ । लोकसेवा आयोगले निर्धारण गरेका पाठ्यक्रममा आधारित भई ‘ओरिजनल टेक्स्ट’ अध्ययन गर्नुपर्छ ।
विषयवस्तुको वास्तविकताभित्र छिरेर पढ्नुपर्छ । विभिन्न जर्नल अध्ययनका लागि गुगलको अधिकतम प्रयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रिय संस्थाहरू जस्तो युएन, विश्व बैंक, एसियाली विकास बैंकजस्ता संघसंस्थाका रिपोर्ट तथा प्रशासन सुधार आयोगका प्रतिवेदनको गहन अध्ययन गर्नुपर्छ । मन्त्रिपरिषद्बाट पारित भएका तत्काल सुधारका कार्ययोजना अध्ययनले पनि लोकसेवाका प्रतिस्पर्धीलाई धेरै सहयोग पु¥याउँछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले हालै प्रकाशनमा ल्याएको संघ, प्रदेश र स्थानीय तहको कार्यको बृहत् विवरण समेटिएको विस्तृतीकरण रिपोर्टको अध्ययन सहयोगी हुन्छ । पूर्वीय दर्शनका भगवत्गीता, बुद्धको अष्टांगिक मार्गको अध्ययन, स्वामी विवेकानन्दको जीवनी, महात्मा गान्धी, नेल्सन मन्डेलाको अटोबायोग्राफी अध्ययन गर्नुपर्छ । हाम्रै राजनीतिक क्रान्तिले ल्याएको राजनीतिक विकासलगायतका उपलब्धिसँग सम्बन्धित जे–जस्ता दस्ताबेज छन्, तिनलाई पनि गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ ।
परीक्षामा लेख्ने तरिका
परीक्षा हलमा छिरेपछि पहिलो ध्यान प्रश्नमै हुनुपर्छ । प्रश्नलाई राम्ररी बुझ्नुपर्छ । त्यसपछि प्रश्नको सम्भावित ‘अडियन्स’ को हुन्छ ? त्यसबारे संक्षिप्त अनुमान गर्न सक्नुपर्छ । त्यसमा आधारित भएर सबै विषयवस्तुलाई समेट्नुपर्छ । शाखा अधिकृत तहमा सूचना र जानकारीको संकलन अलि थोरै भए पनि पुग्छ भने उपसचिव र सहसचिवमा स्तरमा भने सूचनालाई कम र विश्लेषणलाई बढी महत्व दिनुपर्छ ।
थेसिस, एन्टीथेसिस, एनालाइसिस र सिन्थेसिसलगायतका चार कुरालाई ध्यानमा राखेर प्रश्नको उत्तर लेख्नुपर्छ, सहसचिव र उपसचिवका परिक्षार्थीले । समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । संक्षिप्ततामा विचार पुर्याउनुपर्छ । संक्षिप्त र संष्लेशित लेखनमा ध्यान दिनुपर्छ । प्रश्नका सबै आयामलाई तोकिएको समयभित्र समेट्न सक्नुपर्छ । समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण कुरा हो । यसका साथै लेखनसीप पनि उपयुक्त हुनुपर्छ । सुरुमा पृष्ठभूमि लेख्दा चार कुरामा ध्यान दिनुपर्छ । थ्यौरी, प्रिन्सिपल, एप्रोच, कन्सेप्ट तथा मिनिङ र डिफिनेसनलगायत कुरामा ध्यान दिनुपर्छ । सम्बन्धित विषयको थ्यौरी छ भने थ्यौरी उल्लेख गर्नुपर्छ । थ्यौरी छैन भने प्रिन्सिपल उल्लेख गर्नुपर्छ । प्रिन्सिपल पनि छैन भने एप्रोचतर्फ जानुपर्छ र एप्रोच पनि छैन भने मिनिङ एन्ड डिफिनेसनबाट सुरु गर्नुपर्छ । आवश्यकताअनुसार कन्सेप्ट पनि उल्लेख गर्नुपर्छ ।
लेखाइ समापन गर्दा रणनीतिक खालको निष्कर्ष निकाल्नुपर्छ । जुन आफूले पृष्ठभूमिमा लेख्दै आइएको छ र छुटेका कुनै विषय छन् भने त्यसलाई पनि समेटेर परीक्षकलाई समेत प्रभावमा पार्न सक्ने निष्कर्ष दिनुपर्छ । निष्कर्षले भविष्यको सम्भावनासमेत देखाउन सक्नुपर्छ ।
अन्तर्वार्तामा प्रस्तुत हुने शैली
अन्तर्वातामा प्रस्तुत हुनुभन्दा पहिला लोकसेवा आयोगप्रति अत्यन्तै सकारात्मक दृष्टिकोण राखेर जानुपर्छ । चिटिक्कको लवाइले पनि ठूलो अर्थ राख्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बोल्ने शैली स्पष्ट हुनुपर्छ । बोल्दा राइजिङ र फलिङ स्टाइलमा विशेष ध्यान दिँदै निर्धक्क बोल्नुपर्छ । आत्मविश्वास हुनुपर्छ । अन्तर्वार्तामा सोधिने सबै प्रश्नको जवाफ दिन प्रयास गर्ने, तर नजानेको प्रश्न छ भने कनीकुथी भन्ने प्रयास गर्नुहुँदैन । आफू स्पष्ट नहुँदासम्म जवाफ दिने प्रयास गर्नुहुँदैन । अन्तर्वार्तामा समसामयिक विषयमा ज्ञान राख्ने, विश्लेषणात्मक दृष्टिकोण राख्ने र अन्तर्वार्ता दिनुभन्दा पहिला आफूले मान्ने व्यक्तिहरूसँग पूर्वअन्तर्वार्ता गर्नुपर्छ । यो शैलीले अन्तर्वार्तामा आत्मविश्वास बढ्छ ।
@नयाँ पत्रिकाबाट साभार
