ओखलढुंगा । जेठ १७ गते,
ओखलढुंगा जिल्लामा शिक्षकको जागिर छोडेर चुनावी मैदानमा उत्रिने शिक्षकहरुको सङख्या बढ्दो छ । पेशागत संगठनमा रहेर राजनीतिमा क्रियाशील शिक्षकहरु पार्टीले चुनावमा उम्मेदवार बनाउने भएपछि जागिर छोडेर चुनावी मैदानमा होमिएका हुन् । जिल्ला शिक्षा कार्यालयका अनुसार १४ जना भन्दा बढि शिक्षकहरुले राजीनामा दिएका छन् । राजीनामा दिएका मध्ये अधिकांश चुनावी मैदानमा छन् । मुख्य तीन पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट ओखलढुंगामा एक दर्जन शिक्षकहरु स्थानीय तहको मूख्य पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यी हुन् प्रमुख र उप्रमुखकाउम्मेदवार
लामो समय शिक्षण पेशा रहेकी रुम्जाटारकी इच्छा गुरुङलाई एमालेले जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरणको उप मेयरको उम्मेदवार बनाएको छ । कांग्रेस सम्बद्ध शिक्षक संघको राजनीति गर्दै आएकी गुरुङ एमालेले उम्मेदवार बनाउने भएपछि एमालेमा प्रवेश गरेर शिक्षकबाट राजीनामा दिएकी हुन् । उनलाई एमालेले उपमेयर उम्मेदवार घोषणा गरिसकेको छ । खिजीदेम्बा गाउँपालिकाको रगनीस्थित चण्डेश्वरी उच्च माविका प्रधानाध्यापक बेदबहादुर रोकालाई नेपाली कांग्रेसले गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको छ । उनी शिक्षक पदबाट राजीनामा दिएर चुनाव प्रचारमा जुटेका छन् । त्यस्तै एमालेले चम्पादेवी गाउँपालिका प्रमुखमा शिक्षक हरिप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ । कांग्रेसको बाहुल्य रहेको साबिक पलापु गाविसका घिमिरे पनि राजीनामा दिएर चुनावी मैदानमा छन् । नेकपा माओवादी केन्द्रबाट मोलुङ गाउँपालिका उपप्रमुखमा अघि सारिएकी अञ्जुला घिसिङ पनि शिक्षिका नै हुन् । माओवादीले उनी भन्दा प्रभावशाली महिला नभेटेपछि राजीनामा गराएर उनलाई उम्मेदवार बनाएको हो ।

वडा अध्यक्षमा चुनाव लड्ने धेरै
विभिन्न पार्टीबाट वडा अध्यक्षमा चुनाव लड्ने शिक्षकहरु धेरै छन् । नेपाली कांग्रेसबाट सिद्धिचरण नगरपालिका वडा नं. १ मा प्रधानाध्यापकबाट राजीनामा गरेर तीर्थ घिमिरे चुनावी मैदानमा छन् । अरु उम्मेदवार एमालेसँग प्रतिस्पर्धामा आउन नसक्ने भएकाले प्रधानाध्यापकबाट राजीनामा गराएर उम्मेदवार बनाएको नेपाली कांग्रेसले जनाएको छ । शिक्षकबाट राजीनामा गरेर चम्पादेवी गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा मोहन तामाङ कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन् । राजीनामा दिएका केही शिक्षकहरुलाई भने कांग्रेसले टिकट नदिएपछि असन्तुष्ट छन् । नेकपा एमालेबाट तीनजना शिक्षकहरु राजीनामा दिएर चुनावी मैदानमा छन् । एमाले निकट शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष विशाल पौडेल लिखु गाउँपालिका वडा नं. ८ को अध्यक्षमा चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै सीताराम दाहाल सिद्धिचरण नपा ३ को वडा अध्यक्षमा चुनाव लड्ने तायारीका साथ पदबाट राजीनामा दिएका छन् । चम्पादेवी गाउँपालिकामा अंक बोगटी पनि शिक्षक छोडेर उम्मेदवारको तयारीमा रहेको एमालेले जनाएको छ । उनको उम्मेदवारी घोषणा भने भइसकेको छैन । नेकपामाओवादी केन्द्रबाट घनश्याम दाहाल मोलुङ गाउँपालिका ५ को वडा अध्यक्ष र चिसंखुगढी गाउँपालिका ३ मा कांग्रेसबाट प्रवेश गरी देवराज दाहाल वडा अध्यक्षको प्रतिस्पर्धामा छन् । उनले शिक्षकबाट राजीनामा दिइसकेका छन् । स्थानीयतहमा पार्टीका कार्यकर्ता भन्दा शिक्षक लोकपप्रिय भएपछि पार्टीहरुले शिक्षकहरुलाई उम्मेदवार बनाएको बताएका छन् । बढी भोट ल्याउन सक्ने छानेर उम्मेदवार बनाइएको एमालेका प्रचार विभागका प्रमुख तीर्थ सुवेदीले बताए ।
जसले जागिर छोडेर पनि टिकट पाएनन्
स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न राजीनामा दिएका अधिकांश शिक्षकहरुको पेन्सन भइसकेको र कतिले बीचैमा छोडेका छन् । पार्टीले टिकट दिने टुंगो गरेर राजीनामा दिएका दुई जना शिक्षकले भने टिकट पाएका छैनन् । टिकट नपाएपछि उनीहरु आक्रोशित बनेका छन् ।कांग्रेसले टिकट दिने भनेर राजीनामा दिएका चिसंखुगढी गाउँपालिको माम्खाका लोकबहादुर राई र सुनकोशी गाउँपालिकाको बलखुका केशव लुइँटेलले अहिले टिकट पाएनन् । पार्टीले अरुलाई नै उम्मेदवार घोषणा गरेपछि उनीहरु पार्टी नेतृत्वसँग आक्रोसित बनेका हुन् । राई गाउँपालिका प्रमुख र लुइँटेल वडा अध्यक्ष लड्ने तयारीका साथ राजीनामा दिएका थिए ।गाउँपालिका प्रमुख दावी गरेपनि पार्टीले नदिएकाले प्रमुखका दावेदार लोकबहादुर राई राजधानीतिर लागेको स्थानीय बासिन्दा तथा प्रेस युनियनका जिल्ला सचिव जीवनाथ शर्माले बताए ।