रामेछापमा गणतन्त्र दिवस औपचारिकता मात्रै, दिवस कार्यक्रममा कर्मचारीहरुको सहभागिता न्युन्

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १६ २०७४
  • तामाकोसी खबर

रामेछाप । जेठ १६ गते,
सोमबार जेठ १५ गते ,दशौं गणतन्त्र दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा गणतन्त्र स्थापना भएको ९ वर्ष पूरा भएको अवसरमा गणतन्त्र दिवस मुल आयोजना समिति रामेछाप र मन्थली नगरपालिकाको कार्यालयको  संयुक्त आयोजनामा जिल्लामा विभिन्न कार्यक्रमहरु भएका छन् । दिवसको अवसरमा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवंम प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि पत्रकार , नागरिक समाज लगाएतमा सरोकारवाला ब्यक्तिहरुको सहभागितामा ¥याली कार्यक्रमको आयोजना गरिएको थियो । ¥यालीले सदरमुकाम मन्थली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङगणमा सभामा परिणत भएको थियो ।
निमित्त स्थानिय विकास अधिकारी कृष्णलाल वियाको अध्यक्षतामा ,मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेत ,मन्थली नगरपालिकाका उपप्रमुख माया कार्की , सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र , नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्की , नेकपा एमालेका अध्यक्ष शान्ती प्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले मुलुकमा विधिको साशन , आर्थिक , सामाजिक र राजनैतिक स्थिरता कायम होस भन्दै शुभकामना मन्तव्य राखेका थिए  ।  यसैबिच सोहि कार्यक्रमको अवसरमा जिल्ला शिक्षा कार्यालयको आयोजनामा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा विद्यार्थीको भुमिका विषयक वक्त्तित्वकला प्रतियोगितामा पनि भएको छ । माध्यमिक तहमा अध्यनरत जिल्लाका विभिन्न विद्यालयका १० जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।
यसैबिच पछिल्ला समयमा गणतन्त्र दिवस मनाउने प्रक्रिया औपचारिकता निभाउने मात्रै भएको भन्दै गुणासो उठ्न थालेका छन् । यो दिवसका दिन उत्सवका साथ मनाउन भनेर सरकारले सार्वजनिक विदा दिएपनि सरोकारवाला निकायलेले खासै ध्यान नदिदा यसको अस्तीत्व हराउदै गएको भन्दै मानिसहरु चिन्तीत बन्न थालेका छन् । कर्मचारीहरुलाई सरकारले सार्वजनिक विदा दिएपनि उनिहरुलेनै व्यवास्था गरेर दिवसका अवसरमा भएका कार्यक्रमहरुमा नआउदा उनिहरुले अझै गणतन्त्रको महत्व बुझ्न नसकेको गुणासो आउन थालेको छ । रामेछापमा मनाईएको गणतन्त्र दिवसको झलकले पनि यस्तै देखाएको छ ।
औपचारिकता निभाउनका लागि सरोकारवाला निकायले सहिदको फोटो राखेर फूलका थुङगा र सिन्दुर छर्किर सहिदका नाममा केहि भाषण गरिएको दृष्य हेर्दा नक्कल पारिएको जस्तो देखियो । कार्यक्रममा जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुको खडेरी जस्तै थियो भने अन्य प्रतिनिधिहरुको पनि निकै कम सहभागिता रहेको थियो ।


जिल्ला समन्वय समितिको प्राङगणमा भएको कार्यक्रममा म्यादी प्रहरीको सहभागिता भने निकै राम्रो देखियो । सरोकारवाला निकायले प्रभावकारी  समन्वय गर्न नसक्दा गणतन्त्र दिवसलाई सबैले वास्त गर्न छाडेको कार्यक्रमममा सहभागि श्रृजनशिल युवा समाजका लव श्रेष्ठको भनाई छ । सरकारले दिवसका नाममा सार्वजनिक बिदा दिएको छ तर सरकारको निर्णयलाई ब्यवास्था गरि कर्मचारीहरु घरमै सुतेर बस्नु निकै लाजमर्दाे कुरा हो उनको भनाई छ । यसमा सरोकारवाला निकायले प्रभावकारी रुपमा समन्वय गर्न नसक्दा प्रशासनलाई कर्मचारिहरुलेनै मान्न छाडेको उनको भनाई छ ।