पहिलो महिनाको तलब भूकम्पपिडित सुकुम्बासीलाई दिन्छु : गोबिन्द बहादुर खड्का

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १२ २०७४
  • तामाकोसी खबर

रामेछाप । जेठ १२ गते,
रामेछाप जिल्लाको लिखुगाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले आफ्नो पहिलो एक महिनाको तलब भूकम्प पीडित सुकुम्बासीलाई दिने बताएका छन् । उनले जनता सामु बोलेका कुरा क्रमस पुरा गर्दै जाने र त्यसको सुरुवात सुकम्बासी जनताबाट गर्ने बताए ।
बिहिबार लिखुगाउँपालिका वडा नम्बर ५ का बिजयी उम्मेदवारहरुको पदभार ग्रहण तथा शुभकामना कार्यक्रममा उनले आफूलाई राज्यले उपलब्ध गराउने पहिलो महिनाको तलब दुरागाउँमा रहेको २२ घर भूकम्प पीडित सुकुम्बासीलाई दिने प्रतिवद्धता जनाए । आफूलाई हराउनका लागि सबै शक्तिहरु एक भएर लाग्दा पनि जनताले आफूलाई छानेको भन्दै प्रमुख खड्काले यिनै गरिव र पछाडी परेका जनताका लागि प्रतिवद्ध भएर लाग्ने बताए ।
लिखु गाउँपालिकालाई शिक्षा , स्वास्थ्य , खानेपानी , सडक , बिजुली र रोजगारीको क्षेत्रमा जनतासँग बोलेका कुरा अक्षरस कार्यान्वय गर्दै जाने उनको भनाई छ । उनले ५ बर्षसम्म सम्पुर्ण शक्ति विकास निर्माण लगाएत जनताको लागि खर्च गरी लिखुगाउँपालिकालाई नमूना गाउँपालिका बनाउने बताए । गाउपालिकाकी उप्रमुख दिपशिखा दाहालले अबको दिनमा सबैसंग हातेमाले गरेर काम गर्ने बताइन् । उनले निर्वाचनमा हारजित हुने भएकाले हार्नेहरुलाई पनि हारको महसुश नहुनेगरी काम गर्ने बताईन ।
उनले गाउँपालिकालाई आवश्यक सम्पुर्ण स्रोत साधन जुटाउने र ५ बर्षभित्र सबै जनतालाई सबै सेवाको पहँुचमा पु¥याउने बताइन् । कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शान्तिप्रसाद पौडेलले बिजयी भएका जनप्रतिनिधिहरुलाई जनताको चाहाना अनुसार काम गर्न निर्देशन दिए । उनले निर्वाचनमा उठेर जनताले छानिसकेपछि जनताकै लागि झोला बोकेर जनप्रतिनिधिहरु हिड्नुपर्ने बताए ।  कार्यक्रम लिखुगाउँपालिका वडा नम्बर ५ नागदहका अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा भएको थियो ।