रामेछापको २ नगरपालिका र ६ गाउँपालिकामा निमित्त कार्यकारी तोकियो

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ३० २०७३
  • तामाकोसी खबर

रामेछाप । ३० गते, फाल्गुण,
रामेछापमा  नयाँ संरचनाको स्थानीय तह कार्यान्वयनमा आएको छ । यसअघिको जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भएको छ  । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत शुक्रबार देशभरी ७ सय ४४ स्थानीय तह कार्यान्वयनको घोषणा गरेसंगै जिल्लामा नयाँ संरचना कायम भएको हो । स्थानीय तहको संरचना राजपत्रमा प्रकाशन भएसँगै नगरपालिका र गाविसहरु खारेज भएर गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएका छन्

जिल्ला समन्वय समिति मन्थली रामेछापले जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिकामा निमित्त कार्यकारीहरु तोकिएको जानकारी दिएको छ । जिल्ला समन्वय समिति मन्थली रामेछापले एक सूचना प्रकाशन गरि मन्थली नगरपालिको कार्यकारी अधिकृतमा पुरुषोत्तम सापकोटा , रामेछाप नगरपालिकाको कार्यकारी अधिकृतमा गणेश नेपालीलाई निमित्त तोकेको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिकामा गाविस सचिव केशर बहादुर खत्री ,सुनापती गाउँपालिकामा गाविस सचिव घनश्याम थपलिया  ,लिखु गाउँपालिकामा गाविस सचिव केशरमान तामाङ ,खाँडादेवी गाउँपालिकामा गाविस सचिव पासाङ कुमार लामा  , गोकुलगंगा गाउँपालिकामा गाविस सचिव ढाल बहादुर कार्की र दोरम्बा गाउँपालिकामा गाविस सचिव लाल बहादुर श्रेष्ठलाई निमित्त कार्यकारी तोकेको छ । जिल्ला समन्वय समिति मन्थली रामेछापलले निर्वाचन आयोग कान्तीपथ काठमाण्डौ,जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला निर्वाचन कार्यालय रामेछापलाई पनि जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा कार्यकारी तोकिएको जानकारी दिएको छ ।  फागुन २२ गते सरकारले गरेको निर्णय राजपत्रमाप्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीयतह कार्यान्वयनमा आएको हो । नयाँ संरचना अनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । यसअघि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए ।