रामेछाको विभिन्न गाविसमा सञ्चालित ४ मेलमिलापक केन्द्र समुदायलाई हस्तान्तरण

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७३
  • तामाकोसी खबर

रामेछाप । २४ गते, फाल्गुण,
रामेछाप जिल्लामा युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) मार्फत सञ्चालनमा रहेका ४ वटा सामुदायीक मेलमिलाप केन्द्र स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । मंगलबार ४ वटा गाविसमा अलग अलग कार्यक्रम आयोजना गरि मेलमिलाप केन्द्र स्थानीय समुदायमा हस्तान्तरण गरिएको हो ।
यसरी हस्तान्तरण गरिएका सामुदायीक मेलमिलाप केन्द्रहरुमा फुलासी , दोरम्बा, टोकरपुर र दिमिपोखरी रहेका छन् । फुलासीमा आयोजित कार्यक्रममा गाविस सचिव शिवराज खड्काले मेलमिलाप केन्द्रकी संयोजक कान्छिमायाँ तामाङलाई मेलमिलाप केन्द्र हस्तान्तरण गरेको सम्झौतापत्र प्रदान गरे । सोही कार्यक्रममा मेलमिलाप केन्द्रको स्थायीत्व र दीगोपनका लागि सेलर्ड मार्फत प्रदान गरिएको ५० हजार रुपैयाँको चेक पनि मेलमिलाप केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी दोरम्बामा मेलमिलाप केन्द्रका संयोजक मिनबहादुर घिसिङ र टोकरपुरमा संयोजक प्रेमबहादुर थापा मगरलाई सेलर्डका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले ५०÷५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । यसैगरी दिमिपोखरीमा गाविसका प्राविधिक सहायक नेत्र पन्त र सेलर्डका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले संयुक्त रुपमा चेक र सम्झौतापत्र हस्तान्तरण गरेका थिए । सलर्डले सामुदायीक मेलमिलाप कार्यक्रम सञ्चालन गरेका ६ वटा गाविसमा मेलमिलाप केन्द्र हस्तान्तरणसँगै त्यसको दीगो पनका लागि ५० हजार रुपैयाँ समेत प्रदान गरेको छ ।