अभिषेक परियार
पुस २२ बेसीशहर
संघीय मामिला तथा स्थानीय मन्त्रालयका राज्यमन्त्री श्रीप्रसाद जवेगुले तीनवटै तहको निर्वाचन समयमै हुनसके मात्र विकासले गति लिने बताउनुभएको छ । यसो हुनसके मात्र नेपालका सबै नगरपालिकाहरुलाई समृद्धिसँग जोड्न सकिने उहाँले तर्क गर्नुभयो । शुक्रबार बेसीशहर नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री जवेगुले विद्यमान राजनीतिक गतिरोधलाई सल्टाउनका लागि राष्ट्रिय एकता आवश्यक रहेको भन्दै उहाँले सबै राजनीतिक शक्तिहरुलाई एकजुट हुन र इमान्दार बन्न आग्रह समेत गर्नुभएको छ । अधिकांश नगरपालिकासँग फोहोरमैला व्यवस्थापन र ढल निकास लगायत चुनौती रहेकाले सरोकारवाला निकाय, कार्यालय, संघसंस्था, व्यक्ति सबैले दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्न सुझाउनुभयो । थप प्रसंगमा मन्त्री जवेगुले बेसीशहर नपा क्षेत्र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताउँदै तीनको भरपूर उपयोग गरी आम्दानीको स्रोत वृद्धि गर्नेतर्फ लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
यसैगरी, कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर कुँवर, नेकपा एमालेका सांसद जमिन्द्रमान घले र माओवादी केन्द्रका सांसद लालबहादुर गुरुङले राम्रो योजना बनाएर मात्र नहुने भन्दै यसको कार्यान्वयन भएनभएको अनुगमन गर्नुपर्ने बताउनुभएको छ ।
नगरपरिषद्का क्रममा बेसीशहर नगरपालिकाका कार्यकारी प्रमुख धर्मराज लम्सालले लम्सालले आर्थिक वर्ष २०७४÷७५ का लागी १४ करोड ७३ लाख ५ हजार प्रस्ताव गरीएको छ ।
यस्तै, उहाँले आव २०७४ र ०७५ को चालु तर्फ ७ करोड ७३ लाख कुल बजेटको ५२ दशमलव ४७ प्रतिशत र पुँजीगततर्फ ७ करोड ५ हजार कुल बजेटको ४७ दशमलव ५३ प्रतिशत बराबरको रकम सार्वजानिक गर्नुभएको छ । जुन बजेट आ.व ७२÷७३ भन्दा ४२ दशमलब ४० प्रतिशतले बढी हो । नगरपालिकाका कार्यकारी प्रमुख धर्मराज लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका नगर सभापती तिलक थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन एमाले नगर कमीटीका अध्यक्ष भोजबहादुर रिमालले गर्नुभएको थियो ।