पौष २० गते ।
काठमाडौं ः रातो नम्बरबाट फोन आए मरिन्छु भनेर हल्ला फैलाउने गायिका प्रशन्ना पाण्डे प्रहरी फन्दामा परेकी छिन् । पाण्डेले आफूलाई रातो नम्बरबाट फोन आएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा हल्ला फैलाएपछि प्रहरीले पाण्डेसँग सोधपुछ गर्दा उनले गलत प्रचार गरेको खुलासा भएको छ । अन्नपूर्ण अनलाईनमा समाचार छ ।
गायिका पाण्डेसँग सोधपुछका क्रममा उनले झुटो प्रचार गरेको र भ्रमक सूचना फैलाएको प्रमाणित भएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रवक्ता एसपी मीरा चौधरीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन् ।
प्रहरीले गायिका पाण्डेसँगै अर्का गायक दीपक बराईलीसँग सोधपुछ गरेको छ । दुवैसँगको कुराकानीमा गलत सूचना फैलाएको पुष्टि भएको एसपी चौधरीले जानकारी दिइन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पत्रकार सम्मेलन गरेर रातो नम्बरबाट फोन आउने कुरा भ्रमक भएको सबैलाई जानकारी समेत गराएको छ ।
केहीदिनयता सामाजिक सञ्जालमा रातो नम्बरबाट फोन आउने हल्ला फैलिएपछि सर्वसाधारणमा त्रास बढेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा फोटोसपबाट रातो नम्बरबाट फोन आएको बनाएर सामाजिक सञ्जालमा भ्रामक सूचना प्रचार गरिएको प्रहरीले सार्वजनिक गरेको छ । गायिका पाण्डे र गायक बराईलेले माफी मागरेपछि प्रहरीले दुवैजनालाई छोडिदिएको छ ।
प्रहरीले यो गलत प्रचारको विश्वास नगर्न सबैलाई सचेत गराएको छ ।