संविधान कार्यान्वयनका लागि एमालेले जनपरिचालन गर्ने

  • प्रकाशित मिति: सोमबार, पुष १८ २०७३
  • तामाकोशी

नागरिकपत्र संबाददाता
बेसीशहर, पौष १९ गते ।
नेकपा एमालेले संचालन गरेको संविधान कार्यान्वयन को लागि जनपरिचालन अभियान जिल्लाभर जारी रहेको छ । एमालेले संविधान कार्यान्वयन र तत्काल ३ वटै तहको निर्वाचन घोषणाको माग गर्दै देशव्यापी रुपमा संचालन गरेको जनपरिचालन अभियान लमजुङमा पनि जारी रहेको हो ।
अभियानलाई प्रभावकारी बनाउन पौष ११ गते जिल्लास्तरको कार्यक्रम गरेको एमालले पौष २२ र २३ गते आठ स्थानमा एकैपटक कार्यक्रम गर्ने तय गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घोषित कार्यक्रम अनुसार पौष २२ गते निर्वाचन क्षेत्र नम्बर १ को खुदी, नौथर शेरा, तार्कुघाट र पौष २३ गते क्षेत्र नम्बर २ को बेसीशहर, सुन्दरबजार, वाग्लुङपानी, मध्य नेपाल र भोर्लेटारमा कार्यक्रम तय गरिएको एमालेले जनाएको छ । संविधान कार्यान्वयनका लागि दवाव दिन र ३ वटै तहको निर्वाचनका लागि नेता÷ कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई जागरुक बनाउन अभियान संचालन गरिएको नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताउनु भयो ।
त्यैगरी एमालले यसअघि स्थगित गरेको बेसीशहर र सुन्दरबजारको नगरस्तरीय भेला पौष २३ गते गर्ने निर्णय गरेको छ । बेसीशहरमा आयोजना गरिएको भेलालाई प्रभावकारी र भव्य रुपमा सम्पन्न गर्न नेकपा एमाले बेसीशहर नगरकमिटीले आग्रह गरेको छ ।
बेसीशहर नगरकमिटी सचिवालयको सोमबार बेसीशहरमा बसेको विस्तारित बैठकले आ–आफ्नो क्षेत्रमा क्रियाशील रहेर भेलालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । नगर भित्रका जिल्ला कमिटीका सदस्यहरुसहितको उपस्थितीमा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेकपा एमाले बेसीशहर नगरकमिटीका उपाध्यक्ष ऋषिकान्त खनाल ढाँडको समस्यका कारण उपचाररत रहनु भएकोले उहाँको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै नगरकमिटीको अगुवाईमा संकलित १७ हजार ६ सय २० रुपैया आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले बेसीशहर नगरकमिटीका अध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको बैठकलाई नेकपा एमाले जिल्ला कमिटीका सचिव एंव क्षेत्रिय संयोजक कृष्ण प्रसाद अधिकारी र नेकपा एमालेका उपसचिव एंव नगर ईन्चार्ज शुभाष पौडेलले सम्बोधन गर्दै भेलालाई प्रभावकारी बनाउन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा एमाले सचिवालय सदस्य एंव नगर सह–इन्चार्ज राजेन्द्र बोहरा, प्रचार विभाग उपप्रमुख कृष्ण के.सी, जिल्ला कमिटीका सदस्य टेकबहादुर रिमाल, नगरकमिटीका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिती रहेको थियो ।