शान्ता कमली
बेसीशहर, पौष १८ गते ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्नका लागि शैक्षिक गुणस्तर उकास्नु आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् ।
भोटेओडार श्रोत केन्द्रभित्र रहेका विभिन्न विद्यालयका अध्यक्ष तथा प्रअहरुको संयुक्त बैठकमा बोल्दै उनीह्रुले यस्तो बताएका हुन् । सुन्दरबजार–३, स्थित भोटेओडारको भक्ति नमुना माविमा सञ्चालित वैठकमा बोल्दै जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमालले विद्यालयले गरेका सम्पूर्ण गतिविधिबारे सम्बन्धित सबैलाइ जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर उकास्ने मुख्य जिम्मेवारी शिक्षकको रहेको बताउँदै यस कार्यमा अभिभावक र विद्यार्थीले पनि उत्तिक्कै साथ दिनुपर्ने बताउनुभयो । शिक्षकहरुले आधुनिक शैक्षिक प्रणालीका विषयमा जानकार भई त्यसैअनुरुप पठनपाठन गर्नुपर्नेमा पनि उहाँको जोड छ ।
सम्बन्धित अभिभावकले विद्यालयमा केकस्ता शैक्षिक गतिविधि सञ्चालन गरेको छ भन्नेबारे चासो दिनुपर्ने बताउनुभयो । साथै उहाँले शिक्षक र विव्यासले ३५ बुँदे कार्यसम्पादन करार कार्यान्यवन सुझाव दिनुभयो । यसो गर्न सकिएका खण्डमा विद्यँलयको समग्र शैक्षिक स्तर उकासिने उहाँले बताउनुभयो ।
भक्ति नमूना माविका अध्यक्ष एवम् भोटेओडार श्रोतकेन्द्रका संयोजक किर्तिनाथ सापकोटाको अध्यक्षतामा सञ्चालित बैठकमा जिल्ला शिक्षा कार्यालयका श्रीप्रसाद भट्टराई, बाबुराम बराल, गिता पोख्रेल, विद्यालय निरीक्षक शितल पाण्डे लगायत श्रोतकेन्द्रभित्र रहेका २० वटा विद्यालयका प्रअ तथा अध्यक्षहरुको सहभागिता थियो । र्काक्रमको सञ्चालन श्रोतव्यक्ति यज्ञप्रसाद घिमिरले गर्नुभएको हो ।