बुधबार बडादशैंको नवरात्रिको सातौं दिन, फूलपाती भित्र्याइँदै

  • प्रकाशित मिति: बुधबार, असोज ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज ११ गते,
बडादशैंका नवरात्रिको सातौं दिन बुधबार देशभर घर(घरमा फूलपाती भित्र्याइँदै छ ।घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । तर, फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।
आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ ।
उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ । आजै काठमाडौंका नेवार समुदायका घर(घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । किसानले खेतबाट धानका बाला घरमा भित्र्याएर पूजा गर्ने गर्छन् । यसैगरी रमेछापमा रहेको सबै देवीका मन्दिरहरुमा आज विशेस पुजा आजा भैरहेका छन् । त्यसैगरी जिल्लाका भिमशेनका मन्दिरहरुमा पनि पुजा भैरहेका छन् ।