नागरिकका गुनासा सुन्न गाउँ-गाउँमा रामेछापका प्रहरी

  • प्रकाशित मिति: शनिबार, साउन २३ २०८३
  • तामाकोशी

रामेछाप । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप विश्वासिलो र सहकार्यपूर्ण बनाउने उद्देश्यले खाँडादेवी गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा शनिबार भएको कार्यक्रममा स्थानीय नागरिकले सुरक्षा तथा प्रहरी सेवासँग सम्बन्धित आफ्ना गुनासा, समस्या, सल्लाह र सुझाव प्रत्यक्ष रूपमा प्रहरीसमक्ष राखेका थिए।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तुलाल जैसवाल विशेष अतिथि रहेका थिए।
कार्यक्रममा नागरिकका कुरा सुन्ने मात्र नभई प्रहरी सेवामा आवश्यक सुधार र समुदायसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, सामाजिक क्षेत्रका प्रतिनिधि तथा नागरिकको सहभागिता रहेको थियो।
‘नागरिकसँग प्रहरी’ भन्ने मूल भावनासहित जिल्ला प्रहरी कार्यालयले विभिन्न चरणमा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले प्रहरीप्रति नागरिकको विश्वास बढाउनुका साथै स्थानीय सुरक्षा चुनौती पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।