मन्थली। जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) ओसारपसार गरिरहेका तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार साउन १२ गते बिहान करिब ८ बजे मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारमा अवैध रूपमा बालुवा लोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त सूचनाका आधारमा चालकसहित तीन वटा सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको उहाँले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक राउतका अनुसार नियन्त्रणमा परेका सवारीमध्ये खाँडादेवी गाउँपालिका–४ का रामप्रसाद कार्कीले चलाएको बा.५ ख ७५७१ नम्बरको मिनी ट्रकलाई रु २२ हजार ५००, मन्थली नगरपालिका–६ का अनिश माझीले चलाएको बा.४ ख ९२४८ नम्बरको ट्रिपरलाई रु ३० हजार तथा मन्थली नगरपालिका–६ का मनिष माझीले चलाएको मधेश प्रदेश ००३ त ९५८५ नम्बरको ट्र्याक्टरलाई रु १५ हजार जरिवाना गरिएको छ।
सूचना अधिकारी प्रहरी निरीक्षक राउतले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा निगरानी र अनुगमनलाई तीव्र बनाएको बताउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा त्यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गर्नुभयो।