२५ अर्ब लगानीमा बनेको सुरुङमार्गमा, यी सवारीलाई मात्र प्रवेश

  • प्रकाशित मिति: मंगलबार, साउन १२ २०८३
  • तामाकोशी

काठमाडौँ। नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब २५ अर्ब रुपियाँको लागतमा निर्माण गरिएको सुरुङमार्गको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उद्घाटन गर्नुभयो ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्कालै सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन । प्रारम्भिक तीन महिनाको परीक्षण अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ । परीक्षण अवधिमा कुनै शुल्क नलाग्ने जनाइएको छ ।



परीक्षण अवधि सकिएपछि सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरी नियमित सञ्चालन गरिनेछ । सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपियाँ र बाहिरिँदा ६० रुपियाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक तथा टिपरका लागि प्रवेश शुल्क ११५ रुपियाँ र बाहिरिने शुल्क ८० रुपियाँ तोकिएको छ । यस्तै, बस तथा ठूला ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० रुपियाँ र बाहिरिँदा २०० रुपियाँ शुल्क तिर्नुपर्नेछ ।

पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोगमा रोक लगाइएको छ ।

करिब ८० महिनामा निर्माण सम्पन्न भएको सुरुङमार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो ।  काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलासम्म जोडिएको सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने जाम, लामो उकालो र घुमाउरो सडकका कारण हुने यात्राको कठिनाइ कम हुने अपेक्षा गरिएको छ ।