विद्यार्थीलाई साइबर अपराधबारे सचेत गराउँदै विद्यालयमा कानुनी शिक्षा

  • प्रकाशित मिति: बुधबार, असार ३ २०८३
  • तामाकोशी

धोवि, पछिल्लो समय बढ्दो साइबर अपराध र डिजिटल माध्यमबाट हुने हिंसाबारे विद्यार्थीलाई सचेत बनाउने उद्देश्यले रामेछापको लिखु तामाकोशी गाउँपालिका–४, कोटगाउँस्थित भृङ्गेश्वर माध्यमिक विद्यालयमा विद्यालय स्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
लिखुतामाकोशी गाउँपालिकाको न्यायिक समितिको कार्यालयको आयोजना तथा इलाका प्रहरी कार्यालय धोवीडाँडाको सहजीकरणमा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ५७ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, अनलाइन माध्यमबाट महिला तथा बालबालिकामाथि हुन सक्ने हिंसा तथा त्यसबाट जोगिने उपायबारे जानकारी दिइएको थियो। विषयवस्तुलाई थप प्रभावकारी बनाउन श्रव्यदृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।
सहजीकरणका क्रममा प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले डिजिटल युगमा विद्यार्थीहरूले अपनाउनुपर्ने सावधानी, कानुनी दायित्व तथा साइबर सुरक्षाका आधारभूत पक्षबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दीपा पाख्रीन, वडा नं. ४ का अध्यक्ष दिपक पुलामी मगर, विद्यालयका सहायक प्रधानाध्यापक कैलाश प्रसाद तिमिल्सिना, न्यायिक समितिकी सहजकर्ता सुमित्रा लामा लगायत शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस्ता गतिविधिले विद्यार्थीमा कानुनी चेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र जिम्मेवार डिजिटल नागरिक निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।