मनिराज सुनुवार, रामेछाप। उज्यालो नेपाल पार्टीले रामेछापको उमाकुण्ड गाउँपालिका कमिटी पुनर्गठन गरेको छ। केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले तेण्डि शेर्पाको अध्यक्षतामा १९ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो।
नवगठित कमिटीको सचिवमा हेमराज तामाङ चयन भएका छन्। पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा उपस्थिति बलियो बनाउने उद्देश्यले भेला आयोजना गरिएको हो।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज रामकृष्ण लामा, केन्द्रीय नेताहरू दिप योन्जन लामा र विकास श्रेष्ठसहित प्रदेश तथा जिल्ला तहका नेताहरू सहभागी थिए। कार्यक्रममा जिल्ला अध्यक्ष चिना लामा र सचिव मोतिलाल घिसिङको पनि उपस्थिति थियो।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष घिसिङले उमाकुण्डमा उज्यालो नेपाल पार्टीलाई जनताको रोजाइको राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नवनिर्वाचित कमिटी सफल हुने विश्वास व्यक्त गरे।
नवनिर्वाचित पदाधिकारीहरूले स्थानीय तहका विकृतिविरुद्ध आवाज उठाउने, जनताका समस्या र मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने तथा गाउँगाउँमा संगठन विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।