काठमाडौँ । नेपालले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकपमा पुग्ने सम्भावना कायम राख्न महत्त्वपूर्ण मानिएको आईसीसी मेन्स क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ आयोजना गर्ने भएको छ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले सार्वजनिक गरेको जानकारीअनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा सञ्चालन हुनेछ। प्रतियोगिताका लागि रातिको स्टेडियम, आतिशबाजी र उत्साहित दर्शक समेटिएको पोस्टरसमेत सार्वजनिक गरिएको छ।
आठ टोली सहभागी हुने प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली मुख्य विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्। प्लेअफमा क्रिकेट विश्वकप लिग–२ का तल्लो चार टोली र विश्वकप च्यालेन्ज लिगका शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।
लिग–२ मा शीर्ष चारभित्र पर्न नसकेपछि नेपालले मुख्य छनोट प्रतियोगितामा सीधै स्थान बनाउन सकेको थिएन। अब घरेलु मैदानमा हुने प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारमा पर्न सके नेपालले मुख्य छनोट प्रतियोगितामार्फत विश्वकप पुग्ने सम्भावना कायम राख्नेछ।